वैदेशिक रोजगार: पूर्व-स्वीकृति अगावै बिज्ञापन कोटा प्याक, म्यानपावरको मार्केटिङ दुतावासबाट !

Posted on: 13 Jun, 2022

अनिल अधिकारी । जेठ ३०, काठमाडौँ । वैदेशिक रोजगारको लागि म्यानपावरले सार्वजनिक गर्ने अधिकांश डिमाण्डहरु वैदेशिक रोजगार बिभागले बिज्ञापन गर्ने अनुमति दिनु अघिनै प्याक हुने गरेको पाइएको छ । वैदेशिक रोजगारमा पठाउने प्रक्रिया अन्तर्गत बिज्ञापन छापेर सो अनुसारनै कामदार भर्ति गराउनुपर्ने प्रक्रिया छलेर चरम लापरवाही भएको पाइएको हो । 

युवाहरुबाट प्राप्त गुनाशो अनसार बैदेशिक रोजगारीका लागि आउने कामदारहरु माथि भइरहेको ठगि सम्बन्धमा बैदशिक रोजगार बिभागको वेबसाइट, वैदेशिक रोजगार एप तथा राष्ट्रिय दैनिक पत्रिकामा छापिने आधिकारिक डिमाण्डमा उल्लेख भए अनुसार अधिकाँश म्यानपावरहरुले अन्तर्वार्ता तोकिएको दिनमा अन्तर्वार्ता नलिईएको पाइएको छ । पूर्वस्वीकृति पाएपछि अन्तर्वार्ताको दिन सहित तोकेर छापिने डिमाण्डमा वैदेशिक रोजगारमा जाने कामदारले फोन सम्पर्क गर्दा वा सम्बन्धित म्यानपावरमै पुग्दा म्यानपावरहरुले डिमाण्ड प्याक भईसकेको तथा डिमाण्डनै नआएको भन्दै झुक्याउने गरेको गुनाशो बढ्दै गएको छ । यस सम्बन्धमा वैदेशिक रोजगार बिभाग समेत जानकार नभएको भने होइन । यो समस्याको बारेमा बिभाग जानकार हुँदाहुँदै पनि कामदार झुक्याउनमा बिभागकै पनि वेवास्ता रहेको पाइएको छ । बिभागको अनुगमन शाखा यस बिषयमा मौन बसेको पाइएको छ । वैदेशिक रोजगार अन्तर्गत बिज्ञापन दिएपछि म्यानपावरहरुले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई कसरी प्रतिक्रिया दिने गरेका छन् भन्ने कुराबारे नियमित अनुगमन तथा छड्के हुनुपर्ने सुझाव बिभागमा पटक-पटक उठ्ने कुरा हो तर यसका लागि बिभागका अधिकारीहरु मौन बस्ने गरेका छन् ।

वैदेशिक रोजगार नीतिमै कुनै पनि डिमाण्ड प्रमाणीकरण भएर ७ दिनको म्याद राखेर अन्तर्वार्ता गरेपछि मात्र कामदारको श्रम स्वीकृति प्रक्रिया अगाडी बढाउन सकिन्छ । पछिल्लो समय कामदारको मेडिकल समेत डिमाण्ड प्रमाणीकरण हुनु अगावै गराउने गरेको पाइएपछि अहिले पुर्व स्वीकृति पाएपछि मात्र मेडिकल गराउनुपर्ने नियम बनाइएको छ । बिज्ञापन अगावै कामदार छनौट गर्दा वैदेशिक रोजगारमा जान चाहेका युवाहरु ठगिने सम्भावना हुन्छ । डिमाण्ड आएको प्रमाणित नभई कामदार छनौट गर्ने तथा अग्रिम अशुली समेत हुने गरेको अवस्थामा पुर्व स्वीकृति हुने आशामा डिमाण्डमा कामदार छनौट गरेर पछि डिमाण्ड अर्कै म्यानपावरमा गएको समेत पाइएको छ । 

पुर्व स्वीकृति अगावै कामदार छनौट गर्ने क्रियाकलापको कारण एजेन्टको सक्रियता समेत बढेको पाइएको छ । कामदारले कुनै पनि डिमाण्डहरुको बिज्ञापन हेरेर त्यसमा भएको नम्बरमा कल गरेर सोध्दा अधिकांश  म्यानपावरले कोटा खालि नभएको बताइरहेको अवस्था छ । यो अवस्थाले वैदेशिक रोजगार क्षेत्र झनै बदनाम भईरहेको छ । बैदेशिक रोजगार निती र प्रक्रिया पुरा गर्नको लागि मात्र बिज्ञापन गराएर युवाहरुलाई भ्रम छरेको भन्ने बिषयमा वैदेशिक रोजगार बिभागका अधिकारीहरु समेत जानकार हुँदा र पटक-पटक यस सम्बन्धमा ध्यानाकर्षण हुँदा समेत वेवास्ता भएको पाइएको छ । 

दुतावासको भूमिका संकास्पद !

म्यानपावर व्यवसायीहरुले बिभागले पुर्वस्वीकृति दिनु अगावै कोटा प्याक हुनुमा सरकारी प्रक्रियाकै झन्झटिलो व्यवहार कारक रहेको बताएका छन् । उनिहरुको अनुसार रोजगारदाताले कामदार ल्याउन म्यानपावरलाई दिएको डिमाण्ड लेटरको आधारमा बिज्ञापन गर्न अनुमति छैन । रोजगारदाताबाट प्राप्त डिमाण्ड लेटर अनुसार बिज्ञापन गर्न दुतावासले प्रमाणीकरण गर्नैपर्ने हुन्छ । तर केहि देशमा रहेको दुतावासले डिमाण्ड लेटर प्रमाणीकरण गर्न महिनौं लगाईदिने गरेका छन् । जसको कारण रोजगारदाताको दवावमा परेर प्रमाणीकरण अगावै कामदारको छनौटको काम गर्न बाध्यता भएको व्यवसायीहरुको भनाई छ । त्यसरी बिज्ञापन अगावै कामदार भर्ति गर्दा एजेन्टहरु वा पहिलेनै म्यानपावरमा आएकाहरुको सहारा लिन बाध्यता भएको व्यवसायीहरुको भनाई छ । दुतावासले प्रमाणीकरण रोक्नुमा पनि स्वार्थ रहेको व्यवसायीको दावी छ । 

व्यवसायीहरुको अनुसार वैदेशिक रोजगार क्षेत्र सरकारी प्रक्रियाकै कारण बदनाम बन्ने अवस्था रहेको बताउँछन् । व्यवसायीको कुरा सुन्ने हो भने बिभिन्न देशमा रहेको दुतावासले बिभिन्न स्वार्थमा परेर लामो समयसम्म रोजगारदाताले म्यानपावरलाई दिने डिमाण्ड रोक्ने गरेको कारण बिभिन्न समस्या आएको छ । उनिहरुको अनुसार दुतावासले डिमाण्ड प्रमाणीकरणमा ढिलाई गरेर आर्थिक स्वार्थ लिने गरेका छन् । केहि देशमा रहेको दुतावासले त केहि म्यानपावरको मार्केटिङ समेत गर्ने गरेको व्यवसायीहरुको दावी छ । धेरै व्यवसायीहरु दावी यस्तो छ कि केहि देशमा रहेको नेपाली दुतावासले एक म्यानपावरलाई रोजगारदाताले दिएको डिमाण्ड अर्को म्यानपावरमा हत्याउने सम्मको खेल खेल्ने गरेका छन् । यसक्रममा डिमाण्ड प्रमाणीकरणमा ढिलाई गर्ने तथा एउटा म्यानपावरको गोप्य सूचना अरु म्यानपावरमा पुर्याउने सम्मको काम हुने गरेको छ । व्यवसायी भन्छन् 'दुतावासले म्यानपावरको मार्केटिङ गर्छन् । केहि दुतावासमा रहेका कर्मचारी सरकारले पठाएको कर्मचारी जस्तो छैनन्, उनीहरु दुतावासको काम कम र म्यानपावरको काम बढी गर्छन् ।' ति व्यवसायीको प्रश्न छ 'दुतावासले मार्केटिङ गर्दैन भने एउटा म्यानपावरलाई दिएको डिमाण्ड अल्झाएर कसरी रोजगारदातासम्म अर्को म्यानपावरको भिजिटिङ कार्ड पुग्छ ?' यसरी काम गरेर दुतावासका अधिकारी तथा कर्मचारीहरुलाई ठूलो आर्थिक फाइदा भईरहेको स्रोतको दावी छ । दुतावासकै स्वार्थको कारण कामदारको लागत समेत बढ्न गएको दावी गरिएको छ । एउटा म्यानपावरमा आएको डिमाण्ड प्रमाणीकरण गर्न रोक्दा दुतावास रिझाउन पर्ने वा दुतावासको मिलिमतोमा उक्त डिमाण्ड रोजगारदाताबाट अर्कै म्यानपावरमा लानेसम्मको खेलमा दुतावासको भूमिका हुने गरेको आरोप छ । 

दुतावासले सम्बन्धित देशको रोजगारदातालाई गर्ने व्यवहारको कारण नेपाल डिमाण्ड पठाउन समेत रोजगारदाता हच्किने अवस्था आएको व्यवसायीहरुको गुनाशो छ । व्यवसायी भन्छन् 'नेपाली कामदार अरु देशको कामदार भन्दा राम्रो हुन्छन्, इमान्दार छन् भन्ने छाप रोजगारदातालाई छ, तर बिना कारण लामो समयसम्म मागपत्र प्रमाणीकरण नगरेर समस्या खडा गरिदिने, एउटा म्यानपावरमा कोटा आउँदा लामो समयसम्म प्रमाणीकरण नभएको डिमाण्ड अर्को म्यानपावरमा त्यहि कोटा जाँदा तत्काल प्रमाणीकरण हुने जस्ता क्रियाकलापको कारण रोजगारदाताले नेपाली दुतावासको भूमिकाबारे पटक-पटक आफूहरुलाई प्रश्न गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!