२५ बर्षीय जय बहादुर बिकको ठगि साम्राज्य, भिजिट भिसामा गएका डेढसय भूपू आर्मीहरु रुँदै फर्किए

Posted on: 04 Aug, 2022

अनिल अधिकारी । साउन १९, काठमाडौँ । देशको सुरक्षा गर्नमा बर्षौं खटिएर रिटायर्ड भएका भुतपुर्व आर्मीहरु युएई भिजिट भिसाको फन्दामा परेका छन् । शैनिक पेशाबाट अवकास लिएपछि पाएको केहि पैसाले आफ्नो परिवारको उज्वल भविष्य नदेखेर थप आर्थिक उपार्जनको लागि बिदेसिन खोज्दा डेढसय बढी भूतपूर्व आर्मी र उनका परिवारको बिचल्ली भएको छ । बिचल्ली बनाउने गिरोहका नाईके हुन् कालिकोटका २५ बर्षीय जय बहादुर बिक ।  


सैनिकहरुको भित्री संसारमा बसेका पीडितहरु आम सर्वसाधारणको रुपमा बाहिर आए लगत्तै ठगीमा परेको यो नै पहिलो पटक भने होइन । यसअघि पनि एक गिरोहले थाइल्यान्ड बसेर सयौं नेपाली भूतपूर्व आर्मीहरुलाई आकर्षक तलबको प्रलोभन देखाई भिजिट भिसामा थाईल्याण्ड हुँदै लाओस र कम्बोडिया लगेर प्रतिव्यक्ति ५ देखि ७ लाख लिदै फरार हुँदै गरेको रिपोर्ट साझा सबाल मिडियाले केहि बर्ष अघि प्रसारण गरेको थियो । त्यहि रिपोर्टको शिलशिलामा गिरोहमा संलग्नहरुको भिडियो तथा फोटो समेत सार्वजनिक गरेपछि उक्त गिरोहले ज्यान मार्ने धम्कि समेत दिएको थियो । 

अहिले त्यस्तै प्रकृतिको मानव तस्करीको घटना युएईबाट भएको पाइएको छ । सामाजिक संजालमा अनाधिकृत पेजहरु बनाई सेक्युरिटी कम्पनीको माग आएको भन्दै कयौं युवाहरुलाई भिजिटमा युएई लाँदै अलपत्र पार्ने गरेको पाइएको छ । यसरी ठगि गर्नेले युवाहरुबाट ८ लाखसम्म अशुली गरेको समेत पाइएको छ । त्यसरी समस्यामा पर्नेहरु मध्य ठूलो संख्यामा भूतपूर्व आर्मीहरु रहने गरेको पीडितहरुबाट प्राप्त विवरण अनुसार खुलेको छ । 

युवाहरुलाई युएई भिजिटमा लगेर ठगिको साम्राज्य चलाईरहेकाहरुको नाइके जय बहादुर बिक भन्ने व्यक्ति रहेको पीडितहरुले बताएका छन् । यी जय बहादुर बिक भन्ने व्यक्ति २५ बर्षका हुन् । यी व्यक्तिले कयौं नेपालीहरुलाई युएई लादै अलपत्र पारेको पिडितहरुले बताएका छन् । पीडितहरुलाई युएई पुर्याएको गिरोहले ९ महिनासम्म युएईमा अलपत्र पारेपछि पीडितहरु युएईले लगाएको हजारौं दिरामको फाइन तिरेर आफ्नै प्रयासमा रुदै रित्तो हात नेपाल फर्किएका हुन् । पीडित बनेर फर्किएकाहरु अहिले न्यायको लागि बिभिन्न निकाय चहारीरहेका छन् तर उनिहरुलाई ठगेका जय बहादुर बिक सहित व्यक्तिहरु खुलेयाम युएईमा रमाईरहेका छन् । कालिकोट जिल्लाको साविकको चिल्खाया वडा नम्वर १ घर भएका जय बहादुर बिकको ठगि साम्राज्यलाई फलाउने फुलाउने काममा क्रमश: योगेस परियार, बलराम थापा, बसन्तराज श्रेष्ठ, नविन बिक, सुरज थापा, समिर जोशी लगायतहरु संलग्न रहेको पाइएको छ  । 

माथिको तस्वीरमा: क्रमश: ठगीमा संलग्न भनिएका योगेश परियार, कमल वि.क र बलराम थापा 

बर्षौं शैनिक अनुसाशनको परिधिमा बसेर बाहिरको वास्तविकताबाट अनभिज्ञ भएको र सर्वसाधारणकै जिन्दगीमा आए लगत्तै आफूहरुले बर्षौं कमाएर जम्मा गरेको रकम केहि महिनामै स्वाहा भएको पीडितहरुको दुखेसो छ । 

यसै ठगिको बिषयलाई लिएर वैदेशिक रोजगार न्याधिकरणमा पीडितहरुले जाहेरी समेत दिएका छन् । प्रहरीले हालसम्म यो घटनामा संलग्न भोजपुर ११ आम्तेकका २२ बर्षीय प्रदिप तामाङलाई पक्राउ गरि डिल्लीबजार कारागारमा राखेको छ । साथै त्यसै गिरोहमा संलग्न झापा जिल्लाका गौरदह नगरपालिका ७ का सुरज गजुरेल समेत पक्राउ परि डिल्लीबजार कारागारमा थुनाको क्रममा छन् । तर प्रहरीले यो गिरोहका नाइके कालिकोट तिलागुफा ९ घर भएका २५ बर्षीय जय बहादुर बिकलाई पक्राउ गर्न सकेको छैन । त्यस्तै बाँके जिल्ला खजुरा गाउँपालिका २ सितापुरका २७ बर्षीय कमल विश्वकर्मालाई पनि पक्राउ गर्न सकेको छैन । त्यस्तै जय बहादुर बिकलाई सघाउने अर्का व्यक्ति योगेश परियारलाई पनि पक्राउ गर्न सकेको छैन । पीडितहरुका अनुसार योगेश परियार र जय बहादुर बिक दुवै जना युएईमै छन् । उनिहरु दुवै जना प्रहरीको फरार सूचिमा रहेका छन् । 

ठगीमा संलग्नहरुले सामाजिक संजालको दुरुपयोग गरि The Royal Gorkha Overseas Pvt. Ltd. नामको अवैध म्यानपावर खडा गरि युवाहरुलाई युएईको आर्म्स गार्ड तथा भीआईपी सेक्युरिटी गार्डमा पठाउने प्रलोभन देखाउने गरेका पाइएको छ । उनीहरुले युएईमा मासिक तीन हजार पाँच सय कमाई हुने र खान-बस्न समेत खर्च नलाग्ने भनेको पीडितहरुले बताए । ठगि गर्नेहरुले The Royal Gorkha Overseas Pvt. Ltd. को खाता नम्बर समेत खोलेर ठगि गरेको पाइएको छ । उनीहरुले कम्पनीको एनएमबि बैंकको खाता खोलेर बाँकी रकम आ-आफ्नो व्यक्तिगत खाता नम्बर पठाउदै हाल्न लगाएको पाइएको छ । यस क्रममा ठगीमा संलग्न प्रदिप तामाङले एनआईसी एसिया बैंक, जय बहादुर बिकले माछापुछ्रे बैंकका खाता खोलेर रकम लिने गरेको पाइएको छ । त्यस्तै ठगीमा संलग्नहरुले कल्पना ढुंगाना र मीनादेवी पाण्डेको नाममा आईएमई मार्फत पैसा बुझेर बिभिन्न मितिमा भिजिटमा युएई लगेको पाइएको छ । ठगि गिरोहको नाइके जय बहादुर बिकले युएई पुर्याईएका व्यक्तिहरुबाट भिजिट भिसामा जाने क्रममा नेपालबाट साटेर लागिएको १/१ हजारको डलर समेत लिएर काममा लगाइदिने प्रतिबद्धता गर्ने गरेको पाइएको छ । डलर लगेपछि नीज बिकले पुन: फेक अफर लेटर बनाई अब ड्युटी ज्वाईन गरिदिने भन्दै युएईमै रहंदा फेरी आफ्नो माछापुछ्रे बैंकको खातामा पैसा जम्मा गरिदिन भनेपछि पीडितहरुले नेपालमा परिवार मार्फत थप पैसाजम्मा गरिदिने गरेको पाइएको छ । तर पैसा हालेपछि बिभिन्न ठाउँमा सार्दै ९ महिनासम्म युएईमा राखेको पीडितहरुले बताएका छन् । युएईमा बस्ने क्रममा कहिले दाल र भात मात्र दिने गरेको र कहिले ५ दिनसम्म खाना खान नदिएको पीडितहरुले बताएका छन् । 

ठगी तथा मानव तस्करीमा संलग्न बिक लगायत बिरुद्ध ओम प्रकाश उप्रेती सहित १० जनाले  एक करोड १५ लाख ३५ हजार, दिपेन सांवा सहित ७ जना पीडितहरुले थप ५४ लाख ३४ हजार, डिलराज डौलियाले ११ लाख ११ हजार र महेन्द्र बहादुर कुमाल सहित तीन जनाले २९ लाख ३६ हजार सहित २ करोड २९ लाख भन्दा बढीको मागदावी सहित जाहेरी दिएका छन् । 

यसै धन्दामा सघाउ पुर्याउनेहरुमा चाबहिल स्थित ओम हस्पिटल पछाडीको घरमा संचालित जयन्ति सेक्युरिटि सर्भिसका हरिशरण गिरि समेत रहेको पीडितहरुले बताएका छन् । कतिपयले गिरिको खाता नम्वरमा समेत पैसाडिपोजिट गरेको बताएका छन् । कतिपयले भने गजुरेलको नाममा आईएमई गरेको पाइएको छ । 

एक पीडितका अनुसार ठगिमा योगेस परियारको दिदिको सासु नाता पर्ने ठगि दमिनी समेतको संलग्नता रहेको पाइएको छ । ठगि दमिनीको खाता केहिले नगद जम्मा गरिदिएका छन् भने केहिले आईएमई गरिदिएको बताएका छन् । ठगि दमीनीको खातामा पैसा हाल्न लगाएर उक्त रकम दुबईबाटै निकाल्ने गरिएको बताइएको छ । 

वैदेशिक रोजगार न्याधिकरणमा परेको जाहेरी अनुसार जय बहादुर बिक सहित बिकको धन्दालाई सहयोग गर्नेहरु बिरुद्ध कडा कारवाही हुनेछ । ठगिमा संलग्नहरुको सजाय कम वा सजाय छुटको मागदावी र आधार नभएको उल्लेख छ । पीडितहरुलाई ठगीमा संलग्नहरुले जति पैसा लिएका छन् त्यसमा थप ५० प्रतिशत थपेर दिनुपर्ने कानुनी प्रावधान छ । पीडितहरुलाई स्वदेशमै ठगेको नभई विदेश समेत पुर्याई अलपत्र पारेको आधारमा कसुर गर्नेहरु बिरुद्ध 

वैदेशिक रोजगार एनको दफा ४३ मा तोकिए अनुसार कारवाही हुन्छ । ऐनको दफा १० मा इजाजत पत्र बिना वैदेसिक रोजगार व्यवसाय संचालन गर्न नपाउने उल्लेख छ । त्यसै दफालाई टेकेर कारवाही हुँदा दफा ४३ अनुसार कारवाही हुन्छ । जस अनुसार कारवाही हुँदा रोजगार लगाइदिन्छु भनि झुटो आस्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाइदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जानाबापत अशुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजहरुलाई तीन लाखदेखि पाँच लाखसम्म जरीवाना र तीन बर्षदेखि सात बर्षसम्म कैद हुनेछ । ऐनले ठगेर विदेश नपठाएको अवस्था छ भने आधा सजाय हुने भने पनि विदेश पठाइसकेको अवस्थामा पुरै सजाय हुने उल्लेख छ । 

इन्टरपोल लगाएर बिक सहितको गिरोहलाई नेपाल ल्याउन पीडितहरुको सरकारसँग माग 

युएई बसेर ठगिको साम्राज्य चलाईरहेका जय बहादुर बिक लगायत उनको धन्दालाई सघाउ गर्नेहरुलाई इन्टरपोल लगाएर भएपनि नेपाल ल्याएर आवश्यक कारवाही गर्न पीडितहरुले माग गरेका छन् । पीडीतहरुको अनुसार उक्त गिरोहले कयौं नेपालीलाई अवैधानिक बाटोबाट लाने र ठगि गर्ने धन्दा चलाउदै आएको बताएका छन् । 

पीडितहरुको अनुसार युएईमा नेपाल सरकारले केहि गर्न नसक्ने भन्दै उनीहरुले आफूहरुलाई पक्रेर देखाउन च्यालेन्ज दिएको बताएका छन् । उजुरी दिनु अघि पटक-पटक आफू ठगिएको कारण उजुरी दिन जाने भनि जानकारी गराउँदा समेत उनिहरुले जहाँ गएर उजुरी गरेपनि आफूलाई कसैले छुन नसक्ने बताएका थिए । भिजिटको सेटिङ देखि जहाँ पनि पैसाले आफ्नो साम्राज्य चलाउन सकिने बुझेका बिकले अहिले पनि उस्तै धन्दा चलाईरहेको पीडितहरुको दावी छ । ठूलो संख्यामा युवाहरुको उजुरी पुगेर करोडौंको ठगिसंगै मानव तस्करी समेत भएको अवस्थामा लामो समयदेखि उनीहरु पक्राउ नपरेपछि पीडितहरु आफै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने तयारीमा छन् । उनिहरुले मन्त्रालयले समेत वेवास्ता गरे पत्रकार सम्मेलन गर्ने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!