२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीसँग श्रमिकको गुहार– म मानसिक सन्तुलन गुमाउनुभन्दा पहिला नै नेपाल फर्किन चाहन्छु

२० भाद्र २०७९, सोमबार ०५:३८

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर मन्त्रीले आइतबार श्रमिकसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा टेलिफोन मार्फत कुरा गर्दै आएका छन् । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


यसैक्रममा झापा, बिर्तामोड नगरपालिका–२ का चन्द्रकुमार श्रेष्ठ सन् २०१६ मा मलेसिया गए । सेक्युरिटी गार्डको रुपमा उनी नेपालबाट ट्रष्ट नेपाल ओभरसिजमार्फत गएका थिए । मलेसियाको के–फोर्स सेक्युरिटी सर्भिसेसमा काम गर्दै आएका उनलाई कम्पनीले अहिले घर फर्किन दिएको छैन ।

उनको भिसा अवधि ३ वर्षको थियो । त्यसपछि दुई वर्ष थप गरेर ५ वर्ष बनाइयो । पाँच वर्ष पुगेपछि घर फर्किन दिने भनेको तर, अहिलेसम्म पनि नपठाएपछि उनले मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गरे । तर, दूतावासले पनि भिसा सकिएरमात्र घर जाऊ भनिदियो ।

यतिबेला उनी शारीरिकसँग सँगै मानसिक रोगको सिकार भइरहेका छन् । घर फर्किन नपाएपछि उनले नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष गुनासो पोखेका छन् । ‘श्रमिकसँग मन्त्री कार्यक्रम’मार्फत उनले फोन गर्दै आफुलाई उद्धार गरिदिन अनुरोध गरेका हुन् ।

‘सेक्युरिटी कम्पनीमा काम गर्न थालेको ६ वर्ष हुन लाग्यो सर । ५ वर्ष पूरा भएपछि घर पठाउँछु भन्यो । त्यसपछि भिसा थप्न लगायो,’ उनले मन्त्रीसँगको टेलिफोन सम्पर्कमा भने, ‘भिसा थपेपछि घर जान दिँदैन । म बिरामी छु, घर जान्छु भन्दा उल्टै तलाई केही भएको छैन, किन जानुप¥यो घर भनेर हप्काउने गरेको छ ।’

उनले आफू शारीरिकसँगसँगै मानसिक रुपमा पनि बिरामी भइरहेको बताए । ‘म मानसिक रुपमा पनि बिरामी छु । निद्रा नलाग्ने, खाना रुच्दैन । साह्रै गाह्रो परेको छ । मलाई जसरी भए पनि घर फकाईदिनुप¥यो सर,’ उनले विनय गर्दै मन्त्री कुँवरसँग भने ।

आफू काम गर्न सक्ने अवस्थामा नरहेको उनले बताए । घर जाँदा लाग्ने जति पनि खर्च आफू नै व्यहोर्नेसमेत उनले बताए । ‘म काम गर्न पनि सक्दिनँ, कमजोर हुँदैछु, बरु लागेको पैसा तिर्छुभन्दा पनि जान दिएको छैन,’ उनले भने ।

दूतावासबाट पनि केही सहयोग नमिलेपछि मन्त्रीलाई नै फोन गरेको उनको भनाई छ । ‘केही सहयोग हुन्छ कि भनेर फोन गरेको सर,’ मन्त्री कुँवरलाई उनले भने, ‘सक्नुहुन्छ भने मलाई जतिसक्दो चाँडो घर पठाईदिनुहोस् सर । म आफ्नो मानसिक सन्तुलन नगुमाईकन घर आउन चाहन्छु ।’

जवाफमा मन्त्री कुँवरले चाँडै नै उद्धार हुने र त्यतिञ्जेलसम्मका लागि धैर्य गर्न आग्रह गरे । ‘ठिक छ भाइ, चिन्ता नगर्नुहोस्, मलेसियाका अधिकारीहरुलाई सम्पर्क गरेर आजै भन्छौं । धैर्य गर्नुहोस्, तपाईको उद्धार हुन्छ,’ मन्त्री कुँवरले भने ।

त्यस्तै सप्तरीबाट फोन गर्दै विष्णदेवु साहले साउदीमा दुर्घटनामा परी मृत्यु भएका सुरेन्द्र प्रसाद साहको शव नेपाल ल्याईदिन अनुरोध गरे । गत वैशाख २ गते सवारी दुघर्टनामा परी सुरेन्द्रको मृत्यु भएको थियो । तर, उनको शव अहिलेसम्म नेपाल आउन सकेको छैन ।

उनको शव नेपाल ल्याउन आवश्यक पहल गर्न मन्त्री कुँवरले सम्बन्धित निकायलाई तत्कालै निर्देशनसमेत दिए । मन्त्री कुँवरले दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव नेपाल ल्याउन समय लाग्ने बताए । ‘सवारी दुर्घटनामा परेकाहरुको हकमा मुद्दा परेको हुन्छ । त्यो अदालतबाट आदेश नआउँदासम्म शव नेपाल ल्याउन सकिने अवस्था हुँदैन । त्यस्तो शव ल्याउन केही समय लाग्छ,’ उनले भने । 

त्यस्तै झापाबाट विक्रम थापाले फोन गर्दै एजेण्टले ठगेको गुनासो गरे । उनले गत जेठमा झापाको दकममा रहेको एक मेनपावर मार्फत माल्दिभ्सका लागि एप्लाई गरेका थिए । उनलाई जेठभित्रै उडाउने कुरा थियो । तर, भदौ लागिसक्दा पनि उनी उड्न पाएका छैनन् । त्यो बीचमा उनलाई कहिले प्लेनको टिकट काटेको फोटो देखाइयो भने, कहिले भिसाको फोटो देखाइयो । तर, मेनपावर व्यवसायी अहिले सम्पर्क विहीन छन् । उनले आफ्नो समस्या मन्त्री कुँवरसमक्ष राखेका थिए ।

मन्त्री कुँवरले जवाफमा सबैभन्दा पहिला वैदेशिक रोजगारीमा जानको लागि त्यो देशसँग श्रम सम्झौता भएको छ कि छैन भनेर हेर्नुपर्ने बताए । ‘कुनै पनि देशमा लिन्छु भन्छ भने त्यो देशसँग हाम्रो श्रम सम्झौता भएको छ कि छैन, त्यो हेर्नुपर्छ । त्यो देशका लागि हामीले श्रम स्वीकृति दिने गरेका छैनौं भने कसैले भनेको भरमा लाग्नु हुँदैन,’ मन्त्री कुँवरले भने ।

त्यो देशको विषयमा जानकारी लिएर नै प्रोसेस अगाडि बढाउनुपर्ने उनले बताए । कुनै व्यक्तिले त्यो देश पठाइदिन्छु भनेर भिसा पनि दिएन र काममा पनि पठाएन भने त्यो बेला आफू ठगिएको भनेर बुझ्नुपर्ने उनले बताए ।

श्रम स्वीकृति लिएको हो भने वैदेशिक रोजगार विभागमा उजुरी दिन सकिने र त्यस्तो नभएको खण्डमा प्रहरीमा उजुरी दिन सकिने उनले बताए ।

‘जेठभित्रमा उडाउने कुरा थियो । त्यो बेला १५ दिनभित्रमा उडाउने भनेको थियो । त्यसपछि मैले सानो कागज गराएर ६० हजार रुपैयाँ दिएको थिए । तर, अहिलेसम्म उडाएन,’ विक्रमले भने ।

साउन २१ गतेभित्र उडाउन सकिएन भने व्याजसहित पैसा फिर्ता गर्छु भनेर लिखित सहमतिसमेत गरेको तर साक्षी बस्ने दुवै जना सम्पर्क विहीन भएको उनको गुनासो थियो ।

यस्तै, मलेसियाबाट एक जनाले आफूसहित सात जना घर फर्कन नपाएको गुनासो गरे । कम्पनीले ‘आज पठाउँछु, भोलि पठाउँछु’ भन्दै टार्दै आएको उनले बताए ।

उनले भने, ‘हामीले दूतावाससँग पनि सम्पर्क गरेका थियौं । दूतावासले पनि काम गर, घर किन जानुप¥यो भन्दै आएको छ । ८ वर्ष भयो । घर जान्छुभन्दा घर जान दिएको छैन ।’

उनको गुनासोमा मन्त्री कुँवरले सम्बन्धित निकायमा बुझेर समस्याको समाधान गर्न मन्त्रालयका अधिकारीहरुलाई तत्काल निर्देशन दिए । 

मन्त्री कुँवरलाई कोरियन भाषा (इपीएस) पास गरेर जान नपाएकाहरुले समेत गुनासो गरे । झापाको दमकबाट घनश्याम श्रेष्ठले फोन गर्दै सन् २०१८ मा ईपीएस पास गरेर कोरिया जाने प्रतीक्षामा बसिरहेका बताए ।

‘हामी २०१८ मा कोरिया भाषा परीक्षा पास गरेर बसेका हौं । हामीले आश गर्ने कि के गर्ने ? डेट थपका लागि धेरै पहल भएको हो । २०१८ कै पनि एक लट जसको २०२१ सम्म डेट थियो, उहाँहरुको डेट थपेर पनि प्रोसेस हुँदैछ । यसमा केही पहल गरिदिनुहुन्छ कि भनेर फोन गरेको हो,’ उनले भने ।

जवाफमा मन्त्री कुँवरले सरकारको तर्फबाट पहल भइरहेको तर, अर्काको देशको कुुरा भएकाले कहिलेसम्म हुने र कसरी हुने भन्ने यकिन भन्न नसकिने बताए ।

‘हाम्रो तर्फबाट पहल गरिरहेका छौं । कोरियन सरकारसँग पनि बारम्बार आग्रह गरिरहेका छौं । उहाँहरुलाई लिइदिनुप¥यो भनेर हामीले आग्रह गरिररहेका छौं । उताबाट जवाफ आएको छैन,’ मन्त्री कुँवरले भने ।

मन्त्रालयले पहल गरेरै १० हजार इपीएस पास गरेका युवामध्ये अहिले ७ हजार भन्दा बढी गइसकेको जानकारी दिँदै उनले भिसा सकेर बसेकाहरु पनि जान पाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको तर त्यसका लागि दुई देशबीच सहमति हुनुपर्ने बताए ।

मन्त्री कुँवरसमक्ष अन्य श्रमिकले समेत आफ्ना गुनासा राखेका थिए । त्यस्ता गुनासा तत्काल सम्बोधन गर्न सकिने खालका भए तत्कालै र समय लाग्ने खालका भए त्यही अनुसार सम्बोधन गर्दै लैजाने उनले बताए ।

‘हामीले तत्काल गर्न सकिने कुरा तत्कालै गरिहाल्छौं । समय लाग्ने खालको भए कुन निकायमार्फत त्यो समस्या समाधान हुने हो ? त्यहाँबाट समाधान गर्छौं,’ मन्त्री कुँवरले भने ।

वैदेशिक रोजगारमा थुप्रै समस्या रहेको भन्दै ती समस्या एक्लो मन्त्रालयको प्रयासमा समाधान गर्न नसकिने उनको भनाइ थियो । श्रम मन्त्रालयले श्रमिकका गुनासा सुनुवाइका लागि चौविसै घण्टा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरिरहेको छ । जसमा प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म स्वयं मन्त्रीले नै गुनासो सुन्ने गरेका छन् ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ । यसअघि गत साताको आइतबार देश बाहिर रहेकाले मन्त्री कुँवर सो कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् । त्यो भन्दा एक हप्ता अघि मात्रै कार्यक्रमको सुरुवात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य