लीलानाथ घिमिरे/असार ७, काठमाडौं | बुढ्यौलीले गाँजेको छ । अनुहारमा चाउरीका मुजैमुजा । मुखमा दाँत छैनन् । भातसमेत सिलौटामा पिनेर खानु पर्छ । शरिरमा तागत छैन । यस्तो बेला उनलाई अरुको सहाराको जरुरत छ । मिठो, मसिनो खान दिने आराम, विराम सोध्ने सन्तानको अभिभावकत्वको आवश्यकता छ । ती सबै परेको कुरा । अहिले उनी हरेक रात बास र हरेक साँझ गाँसको खोजीमा भौंतारिन बाध्य छिन् । सहारा पाउनु परैको कुरा आफ्नै छोरीले सम्पत्ति सबै हत्याएर उनलाई खेदेकी छिन् घरबाट । उनी ९ महिना कोखमा राखेर हुकाईं, बढाइ, कमाउने बनाएकी आफ्नै शिक्षिका छोरीले कब्जामा पारेको सम्पत्ति फिर्ता पाउन विभिन्न संघसंस्थाको कार्यालय धाइरहेकी छिन् ।
कुनै समय उनको तेह्रथुमको आठराइमा राम्रो बन्दोबस्त थियो । झापा झरेपछि पनि उनलाई दुइ छाक खान लगाउन समस्या थिएन । अहिले यस्तो अबस्था उनकै गर्भमै हुँदा बाबु गुमाएकी छोरी इश्वरीले गराएकी हुन् । रमा अहिले ९० बर्षे बृद्ध उमेरमा लौरो टेकेर आफ्नै छोरीज्वाईंले गरेको अन्याय सवैलाई सुनाउँदै हिँडिरहेकी छन् । उनका ५ छोरी र एक छोरा छन् । उनका नातीनातिना र पनाती पनातिनी जोड्दा ५० जना नाघ्छन् ।
रमाका छोरा श्रीमती लिएर सानैमा घरबाट निस्किए । अरु छोरीहरु हुर्केपछि बिहा गरेर पठाइन् । कान्छी छोरी ७ महिनाको गर्भमा हुँदा श्रीमान् विते । जन्मदै बाबु नदेखेकी इश्वरीलाई रमाले सारै दुख गरेर हुर्काइन् । बिहा गरेर दिए पनि छोरी इश्वरी आमाकै घरमा बस्थिन् । उनी त्यहाँको विद्यालयमा शिक्षक थिइन् । ज्वाईं डा. तारानाथ मैनाली पाटन औद्योगिक क्षेत्रमा रहेको ढलौट कम्पनीका महाप्रबन्धक थिए । साथमा छोरी हुने भएकाले उनैले बुढेसकालमा आफ्नो हेरचाह गर्लिन्, पाल्लिन भनेर रमाले आफ्नो भएको सबै चल अचल सम्पत्ति छोरीका नाममा गरिदिइन् ।
इश्वरीका छोराछोरी जन्मेपछि स्याहार्न रमा काठमाडौं आइन् । नातिनातिना हुर्काइन् । तत्कालीन मन्त्री राधाकृष्ण मैनालीलाई भनेर उनले छोरीको सरुवा काठमाडौं गराइन् । छोरी काठमाडौं आउँदा आमाले दिएको सबै श्रीसम्पत्ति छोरीले बेचेर ल्याइन् । त्यही पैसाले उनले काठमाडौंको इमाडोलमा एक रोपनीभन्दा बढी जग्गा किनेर ६ तल्ले घर बनाइन् ।
छोराछोरी हुर्काउन्जेलमात्र इश्वरीलाई आमा चाहिएको रहेछ । उनले आमालाई देख्न सक्दै छाडिन् । ‘आजै निस्केर जा, भोली नै निस्केर जा भन्न थालि,’ रमाले भक्कानिदै सुनाइ्, ‘ज्वाईंले पनि तेरो केही छैन भनेर निस्किन भन्नु भयो ।’
रमासँग उनकी छोरी बोल्न छाडेको १६ बर्ष भयो । ‘घरमा हुँदा आँखामात्रै तर्थी,’ रमाले भनिन्, ‘मेरो जाने ठाउँ थिएन । आँशु पिएर त्यही घरमा बसेँ । अब अति भएकाले घर छाड्न बाद्य भएको हुँ ।’ उनलाई घरमा हुँदा छोरीले पानीसमेत ताल्चा लगाएर हिँड्थिन् । कैयौं पटक उनका लुगाफाटालगायतका सामान छोरीले फ्याँकिदिइन् । तिनैलाई समेटेर उनी रात विताउन छिँडिमा पुग्थिन् । कैंयौं रात छिँडिमा काटेको रमाले पीडा सुनाइन् ।
रमाले सरकारले दिने बृद्धभत्ता समेत पाएकी छैनन् । उनको बृद्धभत्ता पाउने कागजात ज्वाइँछोरीले कब्जामा राखेका छन् । ‘बृद्ध भत्ता माग्दा किन चाहियो भन्छन्,’ उनले भनिन्, ‘सरकारले दिएको रकमसमेत आफू खुशी खर्च गर्न पाउँदिन ।’
रमाको पीडा सुन्दा जोसुकैको आँखा रसाउँछन् । आफ्नै सन्तानले आफूलाई जन्म दिने आमालाई यतिसम्म गर्न सक्छन् भनेर मानवता भएको मानिसले कल्पनै गर्न सक्दैन ।
रमाले इश्वरीलाई झापामा दिएको घरजग्गाको मूल्य अहिले १ करोडभन्दा बढी पर्छ । त्यत्रो सम्पत्तिकी मालिक रमा अहिले विहानबेलुकाको छाक टार्न हात पसार्नु पर्ने अबस्थामा पुगेकी छन् । सासुको सम्पत्ति हत्याउने तारानाथ मैनालीले झापामा रहेको घरजग्गा पहिले ऐलानी रहेको र पछि आफ्नै श्रीमतीका नाममा दर्ता भएकाले बेचर ल्याएको स्वीकारे । रमाले आफ्नो ऐलानी जग्गामा बनेको घरसहित छोरीको नाममा दर्ता गराइदिएकी थिइन् । अहिले तारानाथको परिवारले उक्त सम्पत्ति आफ्नो भएको दावी गरेका छन् । उनले सासुलाई पार्ने दायित्व आफ्नो भएको स्वीकार्दै उहाँलाई इसाइहरुले उचालेर आफ्नो विरुद्ध भड्काएको दावी गरे । ‘उहाँ आए हामी पाल्न तयार छौं,’ उनले भने, ‘उहाँलाई आफन्तहरुले मेरो सम्पत्ति पाउन उकासेका हुन् ।’
आमाको सम्पत्ति हत्याएर आमालाई घरबाट निकाल्ने छोरी इश्वरी राजधानीको बालुवाटारस्थित एक सरकारी विद्यालयकी शिक्षिका हुन् । उनलाई दुब्यवहार गर्ने ज्वाईं तारानाथ मैलालीले धर्मशास्त्रमा विद्याबारिधि गरेका छन् ।
रमाले आफ्नो सम्पत्ति फिर्ता गरिदिन मैनाली समाजमा समेत निवेदन दिएकी छन् । उनको निवेदनको खासै सुनुवाइ भएको छैन । अन्य निकायमा गएर न्याइ पाइने कुरा रमालाई जानकारी छैन । रमा न्याय दिलाइदिने निकायको खोजीमा छिन् ।