हाम्रो समाज पनि अचम्मको छ । यहाँ कोही हद भन्दा स्वार्थी छन् त कोही निःस्वार्थ मन भएका समाजसेवी पनि । अझ प्रवासीहरुले त झन् प्रवासमा कमाएको धन नेपालको सेवामा कम मात्रै खर्च गर्छन् । बरु बैदेशिक रोजगारीबाट फर्किएपछि फजुल खर्च गर्ने तर सामाजिक कार्यमा चासो नराख्ने यही समाजमा एउटा नमुना नाम बनेको छ: देव बाँस्कोटा ।
पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गम गाउँ ओयाक्जुङ गाविसको वार्ड नं. ५ मा स्थायी घर भएका बाँस्कोटा अहिले इजरायलमा कार्यरत छन् । तर प्रवासमा रहेपनि नेपाल र नेपालीका दुःखसुख बाट कत्ति पनि टाढा बस्न नसक्ने यिनले मिडियाकै माध्यमबाट समाजसेवा गरेर अहिले चर्चित छन् । जन्मथलो तेह्रथुमसँगै आसपास र पुरै नेपालमै किन नहोस् ? हरेक नेपालीका दुःखको साथी बनिदिन्छन् उनी ।
बुबा पुन्यप्रसाद र आमा बालकुमारीका सन्तान बाँस्कोटा प्रवासमा कमाएको लाखौँ रुपैयाँ स्वदेशमा लगानी गर्दै आएका छन् । आफ्नी आमाको मृत्युपछि सामाजिक क्षेत्रमा लगानी गर्ने थालेको बताउने उनै प्रवासी युवा समाजसेवी बाँस्कोटासँग हाम्रा सहकर्मीले गरेको संक्षिप्त कुराकानी:
१. भनिन्छ, परदेश स्वदेश झैँ छैन, हुँदैन । तर तपाई त परदेशमा रहेर पनि स्वदेशको सेवा गर्दै हुनुहुन्छ ? कसरी सम्भव भयो यस्तो गर्न ?
हो नि । परदेशी जीवन घर गाउँमा भए जस्तो त किन हुन्थ्यो र ? प्राय ः मेरो अधिकांश समय काम गर्दैमा बित्छ । बाँकी रहेको समय स्वदेशका समाचार, घटना र परिस्थितिबारे जानकारी लिएर बिताउने गरेको छु । र तिनै सूचना समाचारले गाउँका दुःखसँग जोड्छन् । मनले मान्दैन, र यथासक्दो सहयोग त गर्न मन लागिहाल्ने भयो नि । मेरो आमा म सानै हुँदा बित्नुभो त्यो पनि आर्थिक अभावकै कारणले । त्यसैले पनि आर्थिक अभाव भएकाहरुलाई सहयोग गर्न विशेष रुचाउँछु । आफुले गरेको सानो सहयोगले कसैको जीवन बाँच्छ भने किन समाजसेवा नगर्ने ? भनेर म यो क्षेत्रमा काम गरिरहेको छु ।
२. अहिले कस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ?
आर्थिक अभाबका कारण उपचारमा समस्या भएर मृत्यृ शैयामा छटपटाइ रहेका व्यक्तिहरु देख्दा आफ्नै आमाको याद आउँछ र मन थाम्नै सक्दिनँ । अहिले सम्म मेरो विशेष सहयोग पनि उनीहरु माथि नै छ जो उपचार अभावमा हुन्छन् । साथै समाजमा रहेर केही उर्जाशिल काम गर्ने नसकेका व्यक्ति समुह संस्थाहरुलाई पनि सहयोग गर्दै आएको छु ।
३. तपाईको विचारमा यो समाजसेवा भनेको चाँहि के हो ? किन यस्तो भावना हुनु जरुरी छ नि देव जी ?
समाजसेवा भनेको समाजको गाँउ ठाँउमा रहेका निमुखा गरीबीले पिल्सेकाहरुलाई केही राहात गर्नको साथै समाजलाई सकारात्मक बाटोमा अगाढि बढाउनका लागि मनैदेखि गरिने आर्थिक, भौतिक सहयोग हो । यदि सबैले आफुले कमाएको केही प्रतिशत मात्रै यो क्षेत्रमा खर्चिने हो भने हाम्रो समाज समृद्ध बन्न उति धेरै समय लाग्दैन जस्तो लाग्छ मलाई ।
४. तपाईले अहिलेसम्म गरेका केही उदाहरणहरुबारे भन्नुहोस् न ?
मैले सबैभन्दा पहिले एकल प्रयासले मात्र केही नहुने भएकाले परदेशिएकाहरुको एउटा सामुहिक सहयोगलाई जोड दिएको छु । सुरुमा हामीले यही इजरायलमै रहेका साथीहरुबाट पाँचथर रानिटारकी मृगौला पिडित तारा नेम्बाङलाई ७० हजार सहयोग गर्यौ । पछि पुनः मृगौला पिडित नै तेह्रथुम सिम्लेका गोपाल निंलेकुलाई ९० हजार रुपैयाँ सहयोग गरियो । हमरजुङकी घरबार विहीन बृद्ध आमा भद्रकुमारी सार्कीलाई ओत्कालागि भनेर १० हजार सहयोग गरेको छु । अनि खेल क्षेत्रमा म्याङलुङ, संखुवासभाको मादी, पाँचथर लगायत गरी एक लाख ३० हजार बढी नगदै सहयोग गरेको छु । लगायत अन्य साना सहयोगहरु पनि छन् जुन हामीले हाम्रो पाथीभरा मिडिया ग्रुपका माध्यमबाट गर्दै आएका छौँ । यी मध्येपनि तारा जी र गोपाल जीको जीवन रक्षामा हामीले गरेको सहयोग महत्वपुर्ण सावित भएको छ । आज उहाँहरु जीवित हुनुहुन्छ, र त्यसको कारणको एउटा सानो सहयोगी म पनि हुँ ।
५. अबको तपाईको समाजसेवाको यात्रा कसरी अघि बढ्छ नि ? चुनौती कति छन् ?
फेरि पनि आर्थिक कमजोरीका कारण उपचार गर्न नसकेकाहरुलाई मेरो प्राथमिकता हुनेछ । सकेको सहयोग गरिनै रहनेछु । र अन्य विदेशी स्वदेशी साथीहरुलाई पनि मेरो साथमा साथ दिन आग्रह गर्नेछु । साथै अन्य युवाहरुको विकास र क्षमता विकासकालागि पनि मेरो सहयोग रहने नै छ । अनि, यो क्षेत्रमा समस्या र चुनौती त प्रशस्तै नै छन् । यहाँ यस्ता व्यक्ति छन् जो आफू पनि गर्दैनन् र अरुलाई पनि गर्न दिदैनन् । त्यसैले गर्दा यी समस्याहरुलाई तोडेर अघि बढ्नु मेरो अबको अगाडिको यात्रा हो ।
मलाई यो क्षेत्रबाट नाम कमाउनु भन्दा पनि विपन्नताकै कारण कसैले मृत्यु भोग्नु नपरोस् भन्ने मेरो मुख्य ध्येय हो । अझ म त के भन्छु भने जो सँग पैसा छ, उसले जति पनि कमाउन सक्छ तर मर्दा कत्ति पनि कसैले पनि लिएर जाने हैन । त्यसैले हाम्रो समाजको लागि हामी आफैले कमाईको अलिकति खर्च गर्नु जरुरी हो भन्छु । र मलाई आगामी दिनमा साथीहरुलाई दिइरहनुभएको सहयोग निरन्तर हुनेछ भन्ने आशा गर्छु ।