युरोप जाने बढे, प्रतिव्यक्ति १३ लाखसम्म अशुली हुँदै

Posted on: 24 Aug, 2024

भदौ ८, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा युरोप रोजगारमा जाने युवाहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । एकै महिनामा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिदा युरोप रोजगार अन्तर्गत सबैभन्दा बढी रोमानिया गएका छन् ।

तश्वीर: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । अनिल अधिकारी

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा मात्र २५ हजार पाँच सयले बिभिन्न म्यानपावर मार्फत रोजगारमा जोडिएका छन् । त्यस्तै १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार रोमनियामा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् । साउन महिनामा मात्र रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

पछिल्लो समय युरोप जानेहरुले संस्थागत माध्यम भन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने गरेका छन् । यसरी रोजगारमा जोडिनेहरु मध्ये अधिकांश आफै प्रयास गरेर नभई कुनै एजेन्ट वा कन्सल्टेन्सीको प्रयोग गरेका छन् । त्यसो त युरोप रोजगारमा म्यानपावर खोलेर व्यक्तिगत श्रमस्वीकृतिमा पठाउनेहरु पनि छन् । यसरी अवैध काम भईरहेको बिषयमा जानाकार वैदेशिक रोजगार बिभाग तथा कार्यालयले अनुगमन चुस्त बनाउन नसक्दा यो बेथिति अझै बढ्दै गएको छ । 

यसरी युवाहरुलाई रोजगारमा जोड्दा व्यक्ति, कन्सल्टेन्सी तथा म्यानपावरले कम्तिमा ७ लाखदेखि १३ लाखसम्म अशुल्ने गरेको पाइएको छ ।  

यसरी व्यक्तिगत श्रम स्वीकृतिको नाममा युरोप रोजगारमा जोड्नेहरुले बैदेशिक रोजगार कार्यालयलाई अन्तिम श्रम स्वीकृतिको नाममा प्रतिव्यक्ति कम्तिमा ३ हजारदेखि ३५ हजारसम्म घुष बुझाउनुपर्छ भन्दै युवाहरुसँग रकम अशुल्दै आएको समेत पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!