एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख, ३.६ भन्दा माथि ल्याए ७५ हजार पुरस्कार

Posted on: 12 Feb, 2023

माघ २९, काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए । 

गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपियाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३।२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ । तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उनले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । 

अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जीपीए प्राप्त गर्न सकेका छैनन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!