कविगुरु यज्ञप्रसाद सुवेदीको बेजोड कविता पेट
&nbs"/>
&nbs"/>
सन्सारमा जन्म लिँदा पेट सँगै आयो ।
जन्मिँदैमा जननीको दुध खान पायो ।।
पेट खाली हुन हुन्न ठूलो चिन्ता यै छ ।
कमिलो र हात्तीतक समस्या नै त्यै छ ।।
जीवनलाई जीयाउने जिवीकाको खाँचो ।
जति गर्यो भरिँदैन यो पेटको फाँचो ।।
मरिमेटी गर्नै पर्ने यो पेटको लागि ।
माटोसँग लड्नै पर्ने रातै दिन जागी ।।
जन्मिदैमा रुनै पर्ने खान नपाएर ।
भोकै भए बस्नै पर्ने झिँगा धपाएर ।।
राष्ट्रसेवक हाकिम् नेता मन्त्री कर्मचारी ।
पेटै भर्न ध्यान गर्ने साधु ब्रह्मचारी ।।
आहाराकै खोजीमा छ कमिलाको ताँती ।
पेट पाल्न दुनियाले गरेको छ भाँती ।।
खायो पियो टन्न पर्यो फेरि पच्यो गयो ।
समस्या त भोलि पल्ट फेरी ज्यूँदै रह्यो ।।
जति खायो पच्यो गयो कस्तो होला साँचो ।
सय वर्ष खाँदा पनि भरिँदैन फाँचो ।।
जति ठूलो हुँदै गयो पेट तन्केकै छ ।
मिशिन भित्र रातो दिन आगो दन्केकै छ ।।
चमत्कार देखाउने मञ्च सजाएर ।
प्रवचन् र भाषण् गर्ने गाला बजाएर ।।
जस्ले पनि आखिरमा पेटै भर्न पर्ने ।
पेटले नै सताउँछ अनि कसो गर्ने ।।
पाट अनि पिताम्बर गेरु घसेका छन् ।
माला भिर्दै गंगाजीको तिरमा बसेका छन् ।।
नानाथरी वहानाको भेष गरेको छन् ।
नाटक र जादु रचि पेटै भरेका छन् ।।
पेट खाली भयो भने फाल्सा देख्नै पर्ने ।
कानमा घण्टी बज्न थाले अव कसो गर्ने ।।
भोको भए आँखा पनि तिरिमिरी हुन्छ ।
पेट रित्तो भयो भने नकानले सुन्छ ।।
भोक्मा खान नपाएर खुट्टा लर्वराउने ।
सुतेपनि सपनीमा मान्छे वर्वराउने ।।
बकुल्लाले तलाउमा ध्यान गरेको छ ।
भ्यागुतो र माछो तानी पेट भरेकै छ ।।
कतै सिनो देख्यो भने भैंमा गिद्ध झर्छ ।
त्यही सिनु लुछि लुछि उस्ले पेट भर्छ ।।
जस्ले सक्यो नसक्नेको हत्या गरेकै छ ।
रगत मासु जे जे पायो पेट भरेकै छ ।।
जुको पनि टन्नै पर्ने रगत चुसी चुसी ।
आफ्नो पेट भर्न पाए सबै हुन्छौं खुसी ।।
पेट पाल्ने बाटा खोजे हजारौं छन् ढोका ।
ढोका फेला नपारेर पाएका छौं धोका ।।
सहि बाटो नपाएर निचा धन्दा गर्छौं ।
अर्कालाई सताएर अाफ्नो पेट भर्छौं ।।
जस्को जस्तो बुद्धि आयो उस्तै धन्दा गर्छौं ।
अनेक् जाल रचि रचि यही पेट भर्छौं ।।
हत्या हिंसा लुटपाट पाकेट मार्ने धन्दा ।
यादै हुन्न भविष्यामा पर्ला केही फन्दा ।।
माथि माथि सिट खोज्दै हामी गएका छौं ।
पोष्ट खोजी जनताको नायक भएका छौं ।।
सानु ठूलो जो जहाँ छ सबैको छ पेट ।
आखिरमा हुनुपर्ने आर्यघाटमा भेट ।।
सबै बसौं गरौं अव जिविकाको बाटो ।
साझा हाम्रो जन्मभूमि साझै ढुङ्गामाटो ।।
एउटा पेट पाल्नलाई रुनै पर्ने के छ ।
खाए हुन्छ यो देशको साग सिस्नु जे छ ।।
चोर्ने छल्ने घुस खाने ठगी किन गर्ने ।
जुको बनी रगत चुसी किन पेट भर्ने ।।
अन्यायको कालो धन किन कमाउने ।
सिनु खान गिद्ध बनी किन रमाउने ।।
परिश्रम मिहिनेत गर्ने बानी गरौं ।
न्यायपूर्ण आर्जनले अाफ्नो पेट भरौं ।।
लुच्चो भई भकारी नै भर्नुपर्ने के छ ।
धैर्य गरौं पौरखीको आय आर्जन जे छ ।।
निस्वार्थ र उदारता हराउँछ जब ।
देशैभरी समस्याको राँको बल्छ तब ।।
आफ्नो मात्र पेट भर्ने नियत गर्दा खेरी ।
विकराल रुप लिन्छ समस्याले फेरी ।।
यो पेटले जति खायो उती खान माग्छ ।
धेरै खाई अपच् भए झाडा पनि लाग्छ ।।
खान पायौं जथाभावी खान पनि हुन्न ।
सन्तुलित खाएपछि कलेराले छुन्न ।।
हरेक सवै नागरिक्ले सोच्नै पर्यो अव ।
स्वाभिमानी नेपाली भै बाँच्न सक्छौं तव ।।
मेरो पेट भर्छु मैले अरु जेजे गरुन् ।
आँफू मात्र बाँच्नु पर्यो अरु मरे मरुन् ।।
यस्तो स्वार्थी भावनालाई त्यागी दिनु पर्ने ।
बाँचुन्जेल सवै बाँचौ मरे सँगै मर्ने ।।
समाजमा उदारता लोप हुँदै गयो ।
प्रतिदिन यो समाज सेलाउने भयो ।।
यो समाज फक्री फूली मग्मगाउन पर्यो ।
अँध्यारोमा जुन्किरी झैं जग्मगाउन पर्यो ।।
साभार : १३अौँ कृति कल्पना सङ्ग्रह भाग ४ ।