२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

२०८२, ३ जेष्ठ शुक्रबार १४:५०

काठमाडौँ | चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै गएका छन् । यहाँको इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिरहेको छ ।

जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन् । भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ । तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन् । गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ नारायणगढ मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गरेको बताउनुहुन्छ । वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको उहाँले सुनाउनुभयो । “माथिबाट झरेको चिसो पानीको झरनामा नुहाउन र पौडी खेल्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यसबाट वार्षिक रु २५ लाखसम्म राजस्व सङ्कलन हुने गरेको छ”, अध्यक्ष गुरुङ्ले भन्नुभयो ।

यसैगरी, जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्दछ । यसको पुनः निर्माणका काम भइरहेको अध्यक्ष गुरुङ बताउनुभयो । “उपरदाङ्गगढी कसले बनायो, किन बनायो र त्यसको आवश्यकता के हो ? भन्ने पुष्टि हुनेगरी पुनर्निर्माण गरिरहेका छौँ । गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ । पुराना विभिन्न किसिमका हातहतियार र वेशभूषा त्यो घरमा राख्ने मुख्य उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो ।

गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् । बिदाको समयमा यस क्षेत्रका होमस्टेमा ठाउँ पाउन मुस्किल हुने गरेको छ । उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब रु १५ लाख राजस्व सङ्कलन हुने गरेको छ ।

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ रहेको छ । यसको संरक्षण र प्रवर्द्धनका लागि पनि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ । “यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन् । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “थप झन्डा राख्ने, स्तम्भहरू बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।”

यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरै जसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेका गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

इच्छाकामना–२ मा पर्ने अर्काे पर्यटकीय गन्तव्य हो, मायाँटार । यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन् । स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ । चिसो ठाउँ भएकाले एक रात भए पनि बिताउन यहाँ पर्यटक पुग्ने गरेका हुन् । यसको नजिकै देवीदेवताका थान छन् । त्यहाँ दर्शन गर्न पर्यटकहरू पुग्ने गरेका छन् । त्यहाँको बालगौरी थानमा पूजा गरेमा निःसन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ । गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङ बताउनुहुन्छ । चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ ।

पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्दछ । यहाँ धेरै जसो भारतीय पर्यटकहरू आउने गरेका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, “ काठमाडौँ, भक्तपुर, ललितपुबाट धेरै आउने गरेका छन् । वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन् ।” मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन् । “हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू छन् । मायाँटार जलबिरेमा होमस्टे छन् । पर्यटकीय गन्तव्यका वरिपरि सामुदायिक होमस्टेहरु छन् । सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष सिलवालले हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् । होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्वपूर्ण रहेको बताउनुहुन्छ । गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उहाँ बताउनुहुन्छ । “यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ । त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन् । उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ”, बस्नेत भन्नुहुन्छ ।

गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ