काठमाडौँ । भारतको हैदराबादमा एक नेपाली महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति ३० वर्षीय विजय टोप्पा उर्फ विल्सन हुन्, जो हैदराबादस्थित एक रेस्टुरेन्टमा सेफको रूपमा कार्यरत थिए। उनीमाथि लिभिङ टुगेदरमा रहेकी ३३ वर्षीया गर्भवती प्रेमिका तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार, ताराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित एक सुनसान आवासीय क्षेत्रमा फालिएको अवस्थामा, लगेज ब्यागभित्र फेला परेको थियो।
तारा विवाहित थिइन् र उनका दुई सन्तान छन्। उनले गत अप्रिल १५ मा हैदराबाद आइ विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालेकी थिइन्। फेसबुकमार्फत चिनजान भएका, उनीहरूबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मे २३ मा गर्भावस्थाबारेको विवादपछि विजयले नाइलन झोलाको डोरी प्रयोग गरी ताराको हत्या गरेको स्वीकार गरेका छन्। स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
हैदराबाद प्रहरीले घटनाको अनुसन्धानका लागि पाँचवटा विशेष टोली गठन गरी, सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरेको जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।