काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भई आइतबार काठमाडौं आएका ३७ नेपालीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) परेर अमेरिका पुगेका व्यक्ति पनि रहेका छन्।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, ती नेपालीहरूलाई अमेरिका को एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको चार्टर्ड विमानमार्फत ढाका हुँदै काठमाडौं ल्याइएको हो। तीमध्ये पाँच जना महिला रहेका छन्।
झन्डै १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति टेक्सास राज्यमा बस्दै आएका थिए। उनी एक आफन्तसँग बसिरहेका थिए र पारिवारिक विवादमा परेपछि प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनलाई डिपोर्ट गर्ने निर्णय गरिएको थियो।
काठमाडौं फर्केपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरूले उनलाई सामान्य सोधपुछ गरेका थिए। डिभी परेर गएका कारण सोधपुछपछि विवरण टिपेर छाडिएको हो।
रिजालका अनुसार, डिपोर्ट भएर आएका अन्य व्यक्तिहरूसँग पनि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो। सोधपुछको उद्देश्य अवैध रूपमा अमेरिका पठाउने गिरोहबारे जानकारी संकलन गर्नु थियो। तर, धेरैले प्रहरीसँग सहकार्य नगरेको अधिकारीहरू बताउँछन्।
यसअघि पनि डिपोर्ट भएर आएका ८ नेपालीले अमेरिका पठाउने गिरोहबारे केही खुलाउन नचाहेको र जाहेरी दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।
अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने संख्या बढ्दो रहेको छ। अमेरिकी सरकारको कडा आप्रवासन नीतिका कारण सन् २०२५ को जनवरीदेखि मेसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्।