काठमाडौँ । युट्युबमार्फत एक युवतीको चरित्र हत्या गरेको आरोपमा शर्मिला श्रेष्ठ (राई) सहित तीन युट्युबरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएसँगै विशाल खबर का पासाङ तामाङ र जुम टिभी नेपाल की विनिता कुँवर क्षत्री फरार रहेको साइबर ब्यूरोले जनाएको छ।
१३ जेठ २०८२ मा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्र अनुसार, पीडित युवतीले ४ जेठमा उजुरी दिएकी थिइन्। उजुरीमा शर्मिलासँग टिकटकमार्फत चिनजान भई आपसी लेनदेन हुँदै आएको र पछिल्लो विवादका क्रममा कुटपिट भएको अनि त्यसपछि युट्युबमार्फत अपमानजनक भिडियो सार्वजनिक गरिएको उल्लेख छ।
शर्मिलाको अन्तर्वार्ता ‘विशाल खबर’ र ‘जुम टिभी नेपाल’ च्यानलबाट प्रसारण गरिएको थियो। भिडियो सामग्रीले पीडित र उनका नाबालक बच्चासमेतको सामाजिक प्रतिष्ठा र चरित्रहत्याको आरोप लगाइएको छ।
बयानमा शर्मिलाले आफूलाई निरन्तर झूटो आरोप लगाइएका कारण भावनामा बहिएर अन्तर्वार्ता दिएको स्वीकार गरेकी छिन्।
तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार मुद्दा लगाइएको छ। यस अन्तर्गत पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजायको व्यवस्था छ।
सरकारी वकिल कार्यालयले पीडितलाई क्षतिपूर्ति दिलाउने माग गरेको छ। साथै, फरार रहेका तामाङ र क्षत्रीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम अदालतबाट समाह्वान (म्याद सूचना) जारी गर्न माग गरिएको छ । ‘गोल्डेन टिभी’ नामक युट्युब च्यानलले पनि सोही अन्तर्वार्ता प्रसारण गरेको पुष्टि भएकोले आवश्यक भए थप अनुसन्धान गरिने जनाइएको छ।