मंसिर ७, ललितपुर । नेपाली सूचना प्रविधि उद्योगको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको ‘नास–आईटी एक्स्पो’ सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनसम्म सञ्चालन भएको एक्स्पोमा स्वदेशी प्रविधिको प्रयोग बढाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनीको पहुँच विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को आयोजनामा सम्पन्न एक्स्पोमा सातवटा प्रविधि तथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ स्टल राखिएका थिए । आयोजकका अनुसार दुई दिनको अवधिमा चार हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनी भ्रमण गरेका छन् ।
एक्स्पोमा विद्यार्थीका साथै बैंकिङ क्षेत्र, कर्पोरेट संस्था, उद्योग तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विशेषगरी नेपाली प्रविधि कम्पनी र सम्भावित व्यावसायिक ग्राहकबीच प्रत्यक्ष सम्पर्क, सहकार्य तथा बजार विस्तारका अवसर सिर्जना भएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा साइबर सुरक्षा, वित्तीय प्रविधि, बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालन, डिजिटल प्लेटफर्म तथा शैक्षिक प्रविधिसम्बन्धी उत्पादन र सेवा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमना श्रेष्ठलगायत राजनीतिक तथा नीतिगत क्षेत्रका व्यक्तित्वहरूले प्रदर्शनी अवलोकन गरेका थिए ।

एक्स्पोको दोस्रो दिन आयोजित ‘सेलेक्ट यूएसए’ विषयक प्यानल छलफलमा नेपाली सूचना प्रविधि कम्पनीलाई अमेरिकी बजारमा प्रवेश गराउने अवसर, चुनौती र व्यावसायिक साझेदारीका सम्भावनाबारे विचारविमर्श भएको थियो ।
छलफलमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए । प्यानलको सहजीकरण अमिरराज थापाले गरेका थिए ।
छलफलका क्रममा नेपाली कम्पनीले अन्तर्राष्ट्रिय बजारको मागअनुसार आफ्ना उत्पादन तथा सेवा विकास गर्नुपर्ने र अमेरिकी बजारमा व्यावसायिक सम्बन्ध तथा साझेदारी विस्तार गर्नुपर्ने विषय उठाइएको थियो ।
नेपालमा विकास भइरहेका सफ्टवेयर, डिजिटल सेवा तथा प्रविधि समाधानलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने सम्भावनाबारे सहभागीहरूले विचार आदानप्रदान गरेका थिए ।
एक्स्पोअन्तर्गत ‘बिल्डिङ फ्रम विथइन : स्ट्रेन्थेनिङ नेपाल्स डिजिटल इकोनोमी एन्ड टेक इकोसिस्टम’ विषयक अर्को प्यानल छलफलमा स्वदेशी प्रविधि उत्पादनको विकास, व्यावसायिक उपयोग र नेपाली डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने उपायबारे चर्चा गरिएको थियो ।
एक्स्पो संयोजक प्रार्थना साखःले सहजीकरण गरेको छलफलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए ।
छलफलमा नेपाली प्रविधि कम्पनीले विकास गरेका उत्पादन तथा सेवाको स्वदेशमै प्रयोग बढाउन सके आयातित प्रविधिमाथिको निर्भरता घटाउन र स्थानीय प्रविधि उद्योगको बजार विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो ।
आकाश टेकका संस्थापक गुप्ताले आफ्नो कम्पनीले विकास गरेको कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक संवाद व्यवस्थापन प्रणालीबारे जानकारी गराए ।
उनका अनुसार उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामजस्ता विभिन्न माध्यमबाट हुने ग्राहक संवादलाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सक्छ । ग्राहकसँगको संवादका आधारमा भेटघाटको समय निर्धारण गर्ने तथा व्यावसायिक प्रस्ताव तयार गरी पठाउने सुविधा पनि यसमा रहेको उनले बताए ।
सन् २००८ देखि प्रविधि उद्यमशीलतामा सक्रिय रहेको उल्लेख गर्दै गुप्ताले आगामी जनवरी १५ मा भारतमा ‘आकाशटेल’ सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै, र्यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण गर्ने प्रविधिबारे जानकारी गराए ।
उनका अनुसार युरोपेली पीएसडी–२ संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित प्रणालीमार्फत बैंक खाताको मौज्दात, भुक्तानी र हिसाब मिलानजस्ता प्रक्रिया स्वचालित गर्न सकिन्छ । यसले व्यावसायिक वित्तीय कारोबारलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउन सहयोग पुर्याउने उनको भनाइ थियो ।

एड्रेसग्राफ नेपालका संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमालले नेपालको स्थानीय समस्या समाधानका लागि नेपाली परिवेशअनुकूल प्रविधि विकास गर्नुपर्ने बताए ।
प्रविधि विकासको २८ वर्षे यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै विकास गरिएको विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको जानकारी दिए ।
रिमालका अनुसार सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत तीन सेकेन्डमै आफ्नो स्थानको विवरण अरूलाई पठाउन सकिन्छ ।
त्यस्तै, थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापतिले डिजिटल सेवा विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र व्यक्तिगत पहिचान प्रमाणीकरणजस्ता प्रक्रियामा अझै भौतिक उपस्थितिको आवश्यकता रहने गरेको बताए ।
डिजिटल पहिचान प्रमाणीकरण प्रविधिको प्रयोग विस्तार गर्न सके सेवाग्राहीले भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता घटाउन सकिने उनको भनाइ थियो ।
यस वर्षको एक्स्पोमा पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो ।
प्याभिलियनमा ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल, मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअप कम्पनीले आफ्ना नवीनतम प्रविधि तथा सेवा प्रस्तुत गरेका थिए ।
स्टार्टअप प्याभिलियनमार्फत नयाँ प्रविधि उद्यमलाई सम्भावित ग्राहक, लगानीकर्ता र व्यावसायिक साझेदारसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ता तथा ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए । यस वर्ष चार हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थितिसँगै प्रदर्शनीमा प्यानल छलफल, स्टार्टअप प्याभिलियन र पिच सत्रसमेत समावेश गरिएको थियो ।
एक्स्पोमा विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत देशका राजदूतहरूले भिडियो सन्देशमार्फत एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र निरन्तर सहकार्यको महत्त्व औँल्याएका थिए ।
त्यस्तै, पहिलो दिनका कार्यक्रममा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना गरिएको एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक रहेको थियो । अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई सहप्रायोजक थिए भने डिशहोम इन्टरनेट साझेदारका रूपमा सहभागी थियो । किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा रहेका थिए ।
आयोजक नास–आईटीका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग जोड्दै सूचना प्रविधि क्षेत्रको व्यावसायिक विस्तार, उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान पुर्याउनु हो ।