काठमाडौँ । नेपाल फार्मेसी सङ्घले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलका रूपमा स्वागत गरेको छ।
आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सङ्घले उक्त प्रतिवेदनप्रति समर्थन जनाउँदै सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको सुनिश्चितता आफूहरूको प्राथमिकता रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सङ्घले बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित सबै पक्षलाई बराबरी महत्त्व दिंदै आएको छ।”
फार्मेसी सङ्घका अध्यक्ष युवराज भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधिको मूल्य निर्धारण र आपूर्तिमा वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख छ। नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको अनुभव र योगदानलाई पनि सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिइएको छ।
सङ्घले औषधिमा खर्च हुने कुल स्वास्थ्य खर्चको झन्डै ६५ प्रतिशत हिस्सा नागरिकले बेहोर्नुपर्ने अवस्थालाई उल्लेख गर्दै औषधिको पहुँच सुनिश्चित पारदर्शी र सर्वसुलभ ढंगले गर्नुपर्नेमा जोड दिएको छ।