काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ । राससले ‘एकेडेमिक सेन्टर’का रुपमा विकास गर्ने लक्ष्यअनुरुप तालिम केन्द्रको निर्माण सुरु गरेको हो ।
त्यस अवसरमा मन्त्री खरेलले राससको केन्द्रीय तालिम केन्द्र सम्पन्न हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “व्यवसायिक पत्रकारिताका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, तालिम केन्द्रले त्यो आवश्यक पूरा गर्नेछ ।” स्टुडियोसहितको आधुनिक तालिम केन्द्र सञ्चालनमा आएपछि सबैलाई सहज हुने उहाँको भनाइ थियो । मन्त्री खरेलले तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा रासस भरतपुर कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले तालिम केन्द्र भवनको निर्माण प्रगति तथा हालको अवस्थाबारे मन्त्री खरेललाई जानकारी गराउनुभएको थियो । उहाँले तालिम केन्द्रमा ¥यामको छाना, लिफ्ट, सटरसहितका सामग्री व्यवस्थापन हुन बाँकी रहेको उल्लेख गर्दै सहजीकरणको अपेक्षा गर्नुभयो ।
विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भइ भवन निर्माण सुरु भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा सम्झौता गरी निर्माण गरिरहेको छ । भूमिगत पार्किङसहित चार तलाको भवन निर्माण गर्न लागिएको हो । भवनमा १९ वटा कोठा रहनेछन् ।