युएईमा लागुऔषध प्रयोग र कारोबारमा फस्दै नेपाली युवा

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | भिजिट भिसामा गए पनि रोजगारी प्राप्त गरेपछि उक्त भिसालाई कामदार भिसामा परिवर्तन गर्ने सक्ने युएई सरकारको सुविधा बेरोजगार नेपाली युवाका लागि आकर्षक देखिन्छ । यसैको फाइदा उठाउँदै एजेन्टहरूले युएई पुर्‍याएका नेपाली युवा लागुऔषध प्रयोग र कारोबारजस्ता अपराधमा फसेका घटना भने डरलाग्दा छन् । 

राम्रो काम र आम्दानीको लोभमा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्ने नेपाली युवा लागुऔषध प्रयोग र कारोबारमा फसेका घटना बढ्न थालेका छन् । २० देखि ३० वर्ष उमेर समूहका युवा लागुऔषधको केसमा नियन्त्रणमा पर्ने गरेका हुन् ।


करिब दुई महिनाअघि दुबईस्थित बरदुबईको बन्द रहेको एक होटेल अपार्टमेन्टमा १२ नेपाली युवालाई लागुपदार्थ प्रयोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यो क्षेत्रमा नेपालीको बसोवास अधिक छ । त्यस्तै, गत १ वैशाखमा दुबईकै करमा भन्ने ठाउँबाट नौ नेपाली युवालाई स्थानीय प्रशासनले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमध्ये एक हुन्– सिन्धुलीका रमेश ढकाल (नाम परिवर्तन) । नेपालमा व्यापार गर्दै गर्दा राम्रो आम्दानीको लोभमा उनी ०७७ मा भिजिट भिसामा त्यहाँ पुगेका थिए । तर, लामो समयको दौडधुपपछि मात्रै एउटा क्लबमा बारब्वाइजको काम पाए, ठिकै कमाइ पनि गरे । एक महिनाको बिदा लिएर ०७९ कात्तिकमा नेपाल आएका उनी बिदा सकिएपछि युएई नै फर्किए, तर २९ चैतदेखि परिवारबाट सम्पर्कविहीन भए । आमा रमिला ढकाल (नाम परिवर्तन)का अनुसार सधैँ ड्युटीमा निस्किँदा फोन गर्ने छोरा फेसबुक अनलाइनमा पनि देखिन छाडे । मनमा चिसो पसेपछि दुबईमा बस्ने भान्जा नाता पर्नेसँग सोधपुछ गरिन्, तर खबर पाइनन् । अचानक १ वैशाखमा उनै भान्जाले रमेश जेलमा परेको खबर सुनाए । ‘नयाँ वर्ष सबैलाई रमाइलो थियो । तर, मलाई भने न दिन थियो, न रात,’ उनले भनिन् । 

बिदामा फर्किएपछि रमेशले घरमा पैसा पठाउन पनि छाडेका थिए । रमिलाले भनिन्, ‘म पोल्यान्डको लागि प्रक्रिया गर्दै छु । मसँग पैसा नमाग्नु है भन्थ्यो । तर, ऊ त लागुऔषधको कुलतमा लागेको रहेछ ।’ पछिल्लो तीन महिनायता छोरासँग सम्पर्क पनि नभएको बताउँदै उनी छुटाइदिन राज्यका निकायमा हारगुहार गर्दै छिन् । 

पक्राउ परेका अर्का युवा हुन्– रामेछापका रवि तामाङ (नाम परिवर्तन) । उनी १८ महिनाअघि भिजिट भिसामा युएई गएका थिए । रविका बुबा यमबहादुर तामाङ (नाम परिवर्तन)ले युएईमै बस्ने दलाल कृष्ण चौरसियालाई तीन लाख रुपैयाँ बुझाएर भिजिट भिसामा युएई पठाएको बताए । दलालले दुबईमा डेलिभरीको जागिरको प्रलोभन देखाएका थिए, तर रवि दुबई पुगेपछि चौरसिया सम्पर्कविहीन बने । अन्जान ठाउँमा रविलाई काम पाउन मुस्किल भयो । कामकै खोजीमा भौँतारिँदा साथमा रहेको दुई लाख पनि सकियो । धेरै समय भौँतारिएपछि अन्ततः एउटा क्लबमा काम पाए । 

तर, गत वैशाखमा रविका एक साथीले यमबहादुरलाई फोन गरेर रवि जेलमा परेको खबर सुनाए । ‘चैतको अन्तिममा युएई प्रहरीले उनलाई पक्राउ गरेको रहेछ । लागुऔषध सेवन गरेको भन्दै प्रहरीले उनलाई हिरासतमा राखेको खबर आयो,’ यमबहादुरले भने । 

करमा अवैध कारोबार हुने ठाउँका रूपमा परिचित छ । जहाँबाट लागुऔषधदेखि मानव तस्करीसमेत हुने गरेको जानकारहरू बताउँछन् । दलालहरूले अपार्टमेन्ट, होटेल नै लिएर यस्ता खालका गतिविधि सञ्चालन गर्छन् । नेपाली युवा पनि यस्तै अवस्थामा पक्राउ परेका हुन् । 

पछिल्लो समय लागुऔषध प्रयोग तथा कारोबारमा नेपाली युवा पक्राउ परेका घटना बढिरहेको आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले बताए । ‘पछिल्लो समयमा युएईमा अवैध रूपमा लागुऔषध कारोबारको वृद्धि भएको छ । कारोबारीले यस्ता कामका लागि अवैध रूपमा युएईमा बस्दै आएका आप्रवासीलाई प्रयोग गर्ने गरेका छन् । जसमा नेपाली युवा पनि प्रयोग भएका छन्,’ उनले भने । 

कतारमा आजाद र मलेसियामा पर्यटन भिसामा पुग्ने नेपाली युवाको पनि बिचल्ली

युएईमा काम खोज्दाखोज्दै भिजिट भिसाको अवधि सकिएर जरिवानामा पर्ने, जरिवाना तिर्न नसकेपछि जेल पर्ने, अलपत्र पर्ने वा एजेन्टबाट लाखौँ रकम ठगिने अवस्था छ । उता कतारमा भने भिजिट भिसामा श्रमिक जाने व्यवस्था नभए पनि आजाद भिसाले नेपाली युवालाई फसाउने गरेको छ । 

यसरी लगिएका श्रमिकले आफैँ कतै काम खोज्नुपर्छ । म्यानपावर एजेन्सीले कतारस्थित कम्पनीसँग समन्वय गरी कामदारहरू ल्याउने गरेको र कतार आएका कतिपय कामदारले समयमा काम नपाउने तथा सम्पर्क व्यक्तिसमेत बेपत्ता भई अलपत्र पार्ने समस्या छ । 

मलेसियाको हकमा भने विगतमा लामो समय वैदेशिक रोजगार अवरुद्ध हुँदा पर्यटन भिसामा रोजगारीमा रहने गरेका छन् । साथै विभिन्न डान्सबार तथा रात्रिक्लबहरूमा नेपाली युवतीलाई पर्यटन भिसामा लगेर काम लगाउने गरेका छन् । 

वैदेशिक रोजगारीमा पठाउने गिरोहमा १८ किसिमका व्यक्ति तथा संघसंस्था

गृह मन्त्रालयले अघिल्लो वर्ष भिजिट भिसाको विषयमा अध्ययन गरेको थियो । अध्ययन समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा पठाउने गिरोहमा १८ किसिमका व्यक्ति तथा संघसंस्थाको संलग्नता पाइएको छ । सेटिङ मिलाउने बिचौलिया, ट्राभल एजेन्सी सञ्चालक, होटेल सञ्चालक पहिलो नम्बर पर्छन् । 

त्यस्तै, म्यानपावरका सञ्चालक, एजेन्ट, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम दिने संस्था, पैसा सटही गर्ने व्यक्ति तथा संस्था, भिसा प्रोसेसिङको काम गर्नेहरू, भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र, वायुसेवा निगमसँग सम्बन्धित व्यक्तिहरू, इन्टर्नसिपका लागि विद्यार्थीलाई विदेश पठाउने संस्थाहरू यसमा संलग्न छन् । 

कलाकारलाई विदेशमा कार्यक्रमका नाममा लैजाने, तीर्थयात्रीहरूलाई घुमाउने, सहकारी तथा उपभोक्ता समितिका नाममा गैरसदस्यलाई विदेश लैजाने र विद्यार्थी भ्रमणको नाममा गैरविद्यार्थीलाई विदेश लैजाने समूह सक्रिय रहेको समितिको प्रतिवेदनमा छ ।

प्रतिवेदनको तथ्यांकअनुसार २०२० अगस्टदेखि डिसेम्बरसम्म सात हजार सात सय ९५ जना भिजिट भिसामा मध्यपूर्व तथा मलेसिया गएका छन् । जसमध्ये सात हजार सात सय ४९ जना युएई गए । तीनजना कतार, १४ जना साउदी अरब, दुईजना मलेसिया, २० जना बहराइन र सातजना कुवेत गएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २०२१ अगस्टदेखि डिसेम्बरसम्म ५४ हजार ६ सय ४६ जना भिजिट भिसामा विभिन्न मुलुक पुगेको तथ्यांक छ । जसमध्ये ५४ हजार २६ जना मात्रै युएई पुगेका छन् । तीन सय सातजना कतार, एक सय ७६ जना साउदी अरेबिया, ३२ जना मलेसिया, ४५ जना बहराइन र ६० जना कुवेत पुगेका छन् ।

के कारण लागुऔषधको फन्दामा पर्छन् नेपाली युवा ?

युएई सरकारले भिजिट भिसामा आफ्नो देश आउने व्यक्तिले रोजगारी प्राप्त गरे उक्त भिसालाई कामदार भिसामा परिवर्तन गर्ने सक्ने सुविधा दिएको छ । तर, भिजिट भिसामा युएई गएका अधिकांश नेपाली युवाले भनेको समयमा काम पाउँदैनन् । भिजिट भिसाको अवधि सकिएपछि विनाकाम अवैध रूपमा त्यहाँ बस्दा आर्थिक अभावले भौँतारिएका युवालाई लागुऔषध कारोबारीले सजिलै प्रयोग गर्छन् । 

त्यस्तै, केही युवा भने छिटो धेरै पैसा कमाउने प्रलोभनमा परेर पनि लागुऔषध ओसारपसारमा लाग्ने गरेको युएईस्थित नेपाली समाजको भनाइ छ । कतिपय अभिभावकले भने नेपालमा दुव्र्यसनमा लागेका छोराछोरीलाई सुधार्न भन्दै विदेश पठाउँछन् । तर, त्यस्ता युवा कुनै न कुनै माध्यमबाट पुनः कुलतमा पर्ने गरेका छन् । युएईमा अवैध बाटोबाट लागुऔषध भित्रिने गरेको छ ।

अफ्रिकी मुलुक, इरान, पाकिस्तानबाट सामुद्रिक बाटो हुँदै लागुऔषध भित्रिन्छ । लागुऔषधका विषयमा युएई सरकारले कडा नियम अवलम्बन गरेको छ । लागुऔषध प्रयोग गरेको पाइएमा अधिकतम करिब १८ लाख रुपैयाँ (५० हजार दिराम) र पाँच वर्षसम्मको जेल सजाय तोकेको छ । तर, लागुऔषध कारोबार गरेको भेटिएमा अधिकतम करिब सात लाख २० हजार रुपैयाँ (२० हजार दिराम) र सात देखि १० वर्ष जेल सजाय तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!