Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सेवा विस्तार गर्दै रामपुर अस्पताल

२०७९, ७ चैत्र मंगलवार ०६:४१

चैत ७, रामपुर (पाल्पा) | सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । 

सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसुति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका–१ का देउबहादुर ढेंगा बताउनुहुन्छ । “रामपुर अस्पतालमा शल्यक्रियामार्फत सेवा दिन थालेपछि हामीजस्ता विपन्न नागरिकलाई धेरै राहत मिलेको छ, अन्यत्र अस्पतालमा लैजाँदा बाटोमा नै बिरामीको ज्यान जाने हो कि भन्ने समस्या, अर्कोतर्फ आर्थिक समस्याले निकै पिरोल्ने गरेको थियो”, उहाँले भन्नुभयो ।


अस्पतालमा गत चैत ३० गते राति ३० वर्षीया महिलाको एक्टोपिक गर्भावस्थाको जटिल प्रकृतिको शल्यक्रिया गरियो । आठ हप्ताको गर्भवतीको पाठेघरभन्दा बाहिर अण्डबाहिनी नलीमा बसेको भु्रण फुटेर पेटमा रगत फैलिएको थियो । सो समस्याको यस अस्पतालमा शल्यक्रिया गर्न सहज थिएन । तैपनि तत्काल अन्यत्र पठाउन नजिक सुविधासम्पन्न अस्पताल नहुनु, अर्कोतर्फ बिरामीको परिवारको आर्थिक अवस्था नाजुक भएकाले यहाँका स्वास्थ्यकर्मीले जोखिम मोलेर सफल शल्यक्रिया गरी बिरामीको ज्यान मृत्यु हुनबाट बचाएका छन् ।  अस्पतालमा भिडियो एक्स–रेमार्फत हेर्दा उहाँको पाठेघर बाहिर रहेको अण्डबाहिनी नलीमा भ्रुण बसेको हँुदा सो भु्रण असुरिक्षत गर्भनिरोधक औषधि सेवनको असरले फुटेर पेटमा रगत फैलिएको अवस्थामा अस्पतालमा ल्याइएको चिकित्सक सुनिलकुमार दासले बताउनुभयो । स्थानीय मेडिकल सञ्चालकले अन्धाधुन्ध गर्भनिरोधक औषधि वितरणको असरले यस्तो समस्या बल्झिएको हो । बिरामी महिलाले रामपुर बेझाडको एक स्थानीय मेडिकल पसलबाट गर्भनिरोधक औषधि सेवन गरेको परिवारले बताएको छ । उहाँले आठ हप्ताको गर्भ निरोधक औषधि मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्नुभयो ।      

ती महिलाले गत चैत २८ गतेदेखि औषधि सेवन गरेपछि उहाँमा समस्या देखिन थाल्यो । चैत २९ गते साँझ दोस्रोपटक औषधि सेवन गरेपछि झन् उहाँमा समस्या थपियो । औषधिको असरले कष्टसँग दुखाइ सहेर बस्नुभयो । चैत ३० गते झन् समस्या बढ्न थालेपछि उहाँलाई अस्पताल लगियो । 

भिडियो एक्स–रेमार्फत हेर्दा भ्रुण फुटेर पेटभित्र रगत फैलिएको थियो । तुरुन्तै स्वास्थ्यकर्मीले करिब दुई घन्टा लगाएर शल्यक्रिया गर्न सफल भए । उहाँको पेटमा रगत मिसिएको साढे तीन लिटर झोल पदार्थ र डेढ किलो रगतको चोक्टा भेटिएको थियो । रगतको मात्रा बिरामीको शरीरमा घट्दै गएपछि अस्पतालकै स्वाथ्यकर्मीबाट रगत व्यवस्थापन गरेर बिरामीलाई स्वास्थ्योपचार सेवा दिएपछि अहिले अवस्था निको हुँदै गएको छ । 

पर्याप्त साधन स्रोत र जनशक्ति अभावका बीच पनि स्वास्थ्योपचार सेवालाई प्राथमिकता दिएर जटिल प्रकृतिका शल्यक्रिया सेवा दिन थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार बताउनुहुन्छ । चालु आर्थिक वर्षको हालसम्म एक सय नौ जनाले सुरक्षित गर्भपतन सेवा लिएको पाइएको छ । उहाँका अनुसार गर्भपतन सेवा अनुमति नभएका स्थानीय स्वास्थ्य संस्थामा गर्भनिरोधक औषधि सेवन गरेका चारदेखि छ जनासम्म यस अस्पतालमा हरेक महिना थप उपचारका लागि आउने गर्दछन् । रामपुर नगरपालिकाभित्र रामपुर अस्पताल, गाँडाकोट र गेझा स्वास्थ्यचौकीमा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।  

स्थानीय मेडिकल पसलमा गर्भपतनको औषधि सेवन गर्ने तर पछि स्वास्थ्यमा समस्या आएपछि मात्रै अस्पतालमा जाने प्रचलन छ । स्थानीयस्तरमा फार्मेसी खुल्नेक्रम बढिरहेको छ । मनपरी तरिकाले औषधि प्रयोग गर्ने र गराउने कार्यले मानव स्वास्थ्य जोखिममा परेको छ । अन्तिम अवस्थामा जीवन नै धरापमा पर्न थालेपछि मात्रै अस्पतालमा बिरामी पुग्दछन् । 

मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै मात्रै सुरक्षित गर्भपतन गराउनुपर्ने भनिए तापनि स्थानीय मेडिकलले खुलेआम विभिन्न सञ्चारमाध्यममा सुरक्षित गर्भपतन सेवाका सूचना प्रवाह गर्ने, कानुनविपरीत मानव स्वास्थ्य नै जोखिममा पर्नेगरी स्वास्थ्योपचार गर्दा जोखिममा घटना निम्तने गरेका छन् । यसमा स्थानीय सरकारले गम्भीररुपमा चासो नदिँदा पनि मेडिकलले मनपरी ढङ्गले आफ्ना ग्राहकलाई प्रलोभनमा पारी सेवा दिइरहेको स्थानीयको भनाइ छ । 

पाल्पाको पूर्वी भेगमा रहेको यस अस्पतालको सेवा क्षेत्र ठूलो रहेकाले यहाँका नागरिकलाई अस्पतालमा कतिपय साधन स्रोत कम र जनशक्ति अभावका बाबजुद पनि प्रभावकारी सेवा प्रवाह भइरहेको अस्पताल विकास समितिक अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । यहाँ दैनिकजसो तीन सय बढी बिरामी उपचारमा आउने गर्दछन् । अस्पतालको पचास श्ययाको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएपछि नयाँ भवनबाट विशेषज्ञसहितको सेवा दिने अस्पतालले जनाएको छ । 

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ मा १५ श्ययामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । करिब रु साढे १८ करोडको लागतमा नयाँ भवन निर्माण थालनी भएको छ । नयाँ भवन हस्तान्तरणपश्चात विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान गरी सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की