कांग्रेसले शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई निलम्बन नगर्ने, थापाले फरकमत लेख्दै

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज(बुधबार) कांग्रेसले निर्णय सुनाउँदै छ । पार्टीले लिने निर्णयका विषयमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा कांग्रेसले खाँणलाई निलम्बन नगर्ने निष्कर्ष निकालेको हो । 


त्यसप्रति महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन् । थापाले त्यसमा आफ्नो फरकमत रहने जनाउँदै पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव गरेका छन् । त्यस विषयमा कांग्रेस पदाधिकारी बैठक सहमतिमा पुगिसकेको छैन । दिउँसो ४ बजेका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा त्यसअघि सभापति शेरबहादुर देउवासहितका नेताहरू फेरि छलफलमा जुट्ने छन् । त्यसपछि मात्र केन्द्रीय समितिको बैठक सुरु हुने नेताहरूले जनाएका छन् । 

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ । साथै, केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिका तर्फबाट महामन्त्री थापाले पेस गरेको प्रस्तावलाई संशोधनसहित पारित गर्ने भएको छ । 

बैठकले जनजीविका सवालमा पार्टीसमेत सहभागि सरकारलाई केही मार्ग निर्देश गर्ने छ । पार्टीका सबै निकायलाई पूर्णता दिने तथा भ्रातृ संगठनका केन्द्रीय समिति गठनका विषयमा पनि बैठकले निर्णय गर्ने छ । साथै, गतवर्ष भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध खडा भएका नेता तथा कार्यकर्तालाई कांग्रेसले आम माफी नदिने भएको छ । तर, तल्लो तहको सिफारिसका आधारमा कारवाही प्रक्रियामा लचकता अपनाउने कांग्रेसले निर्णय गर्ने भएको छ ।

आज बस्ने बैठकले पार्टीको निर्णय गर्दै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति सकिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!