महोत्तरीका मिटरब्याजी इन्द्रजित साह प्रहरीको नियन्त्रणमा

Posted on: 27 Jul, 2023

साउन ११, काठमाडौँ | महोत्तरीमा एकजना मिटरब्याजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको भंगाहा नगरपालिका-६ का इन्द्रजित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार बुधबार मिटरब्याजबारे छलफल गर्न साहलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो। सहायक सिडिओ, पीडित र प्रहरीसँगै सरोकारवाला निकायका व्यक्तिहरूसहितको छलफलमा विवाद भएपछि साहलाई नियन्त्रणमा लिइएको हो।

‘मिटरब्याज लगाएर हडपेको जग्गाजमीन फिर्ता गर्नेबारे छलफल भएको थियो । त्यसक्रममा उनले फिर्ता नगर्ने भनेर विवाद गर्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी गिरीले भने।

अपराह्न साढे चार बजे नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीविरूद्ध ६/७ जनाले उजुरी दिएको डिएसपी गिरीले बताए।

जिल्ला प्रशासन कार्यालय आज पनि छलफल रहेकोले उनलाई छलफलमा उपस्थित गराउन लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!