चिनियाँ र भारतीय मध्यस्थकर्ता मात्र

Posted on: 28 Jul, 2023

साउन १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ ।

साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदिप राई नेतृत्वको टोलीले थाप्तेनलाई पक्राउ गरेको थियो । पुरानो दिल्ली घर भएका ५३ वर्षीय छिरिङ काठमाडौँको पानी पोखरीमा बस्छन् । कम्फर्ट हाउजिङस्थित उनी बस्दै आएको फ्ल्याटमा राजस्वले छापा मारेको छ । फ्ल्याटबाट विभागको टोलीले कागजात बरामद गरेको छ ।

विमानस्थलबाट सुन बरामद गरेको भोलिपल्ट (४ साउनमा) चीनतर्फ भाग्न लागेका थिए, जिक्वाङ लिन । नेपाल प्रहरीसँग समन्वय गरेर राजस्व अनुसन्धानको टोलीले दरबारमार्ग स्थित उत्तर ढोकाबाट पछ्याएर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चिनियाँ र भारतीय नागरिक सुन तस्करीमा ‘मध्यस्थकर्ता’ मात्रै भएको राजस्व विभागको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘सुनमा उनीहरु लगानीकर्ता होइनन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने– ‘जिक्वाङ र थाप्तेन दुवैजना मध्यस्तकर्ता मात्रै हुन् ।’

सुनको लगानीकर्ता मध्येका व्यापारी राकेशकुमार अडुकिया भएको विभागका अधिकारीहरुको आशंका छ । साउन १० मा विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासी गरेको थियो । अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया फरार छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!