परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार

Posted on: 28 Jul, 2023

साउन १२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन् । 

“मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,” उनले शुक्रबार ट्विटरमा लेखेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवारी दिने दुई हजार ४०० भन्दाबढीलाई यसैसाता कारबाही स्वरुप जनही १५ हजार रुपैयाँ जरिबाना गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!