ज्ञानेन्द्र मल्लले बोलाए पत्रकार सम्मेलन, के सन्‍न्‍यास घोषणा गर्दैछन् ?

Posted on: 04 Aug, 2023

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन् ।

ज्ञानेन्द्रले के विषयमा कुराकानी गर्न खोजेका हुन् भन्ने खुलेको छैन । तर, उनले ‘सन्‍न्यास लिने मनस्थिति बनाइरहेको’ सूचना केही दिनदेखि नेपाल क्रिकेट संघ (क्यान) को उच्च नेतृत्वसम्म पुगेको छ । यद्यपि, ज्ञानेन्द्र स्वयम्ले भने क्यानलाई औपचारिक वा अनौपचारिकरूपमा केही बताएका छैनन् ।

क्यानका म्यानेजर विनोद दासले ज्ञानेन्द्रले सन्‍न्यास लिनसक्नेबारे आफूलाई जानकारी नरहेको बताए ।

‘क्यानमा आधिकारिक जानकारी केही पनि आएको छैन । पत्रकार सम्मेलनको विषयमा पनि थाहा भएन,’ उनले भने । तर, क्यानकै अर्को स्रोतले भने ज्ञानेन्द्र निकटस्थहरुबाट अनौपचारिक सूचना आएको उल्लेख गर्‍यो ।

‘उहाँले चाँडै सन्‍न्यास लिन सक्नुहुन्छ भन्ने टीमका अरु सदस्यहरूले सुनाइरहेका थिए,’ स्रोतले भन्यो ।

नेपालले हालै श्रीलंकामा इमर्जिङ नेसन्स कप खेल्दा ज्ञानेन्द्र टीममा परेका थिएनन् । उनीसहित केही सिनियर खेलाडीलाई रेस्ट दिइएको थियो । इमर्जिङ कपपछि श्रीलंकामा नै नेपाली टीमले केही अभ्यास खेलहरु खेल्दा त्यसमा ज्ञानेन्द्रसहित तीन खेलाडीहरुलाई पठाउन खोजिएको थियो । तर, ज्ञानेन्द्रले आफ्नो पासपोर्ट बेलायत दूतावासमा भिसाका लागि पठाएको हुँदा उनले श्रीलंकाका लागि एप्लाई गर्न पाएनन् । यस विषयमा उनले क्यानका अध्यक्षलाई पनि जानकारी गराएका थिए ।

ज्ञानेन्द्रले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पछिल्लो समय उनी नेपाली टिममा परे पनि धेरै म्याचहरुमा प्लेइङ ११ मा पर्न सकेका छैनन् । टिममा युवा खेलाडीहरुको उदय भइरहँदा पनि उनले दबाब महसुस गरिरहेका छन् ।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए । संयोग के छ भने पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्‍न्यास लिएका हुन् । कतै त्यही दिन पारेर ज्ञानेन्द्रले पनि पारसलाई पछ्याउँदै त छैनन् ? यसको जवाफका लागि केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!