भदौ ४, काठमाडौँ | संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् ।
अब समितिले श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
अनुमोदन भएसँगै श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
३१ औं प्रधानन्यायाधीशका रुपमा अनुमोदित भएका श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन् । ‘क्याडर जज’ रहेका श्रेष्ठलाई न्याय सेवाको लामो अनुभव रहेको छ ।