सुवास नेम्वाङको स्थानमा सुहाङ की झलनाथ ?

Posted on: 21 Sep, 2023

असोज ४, काठमाडौँ | एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भएको एक हप्ता बढि भयो । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधीसभामा निर्वाचित भएका सुवासको निधनपछि निर्वाचन क्षेत्र खाली भएको छ ।

उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत कसलाई पठाउने भन्नेमा राजनीतिक कसरत सुरु भइसकेको छ । स्वभाविक रुपमा नेम्वाङका छोरालाई इलाम २ को उम्मेदवारको दावेदार मानिएको छ, तर नेकपा एमालेले पुर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानीत नेता झलनाथ खनाललाई उम्मेदवार बनाउनेसम्मको कसरत थालेको खुलेको छ ।


नेकपा एमालेले नेम्वाङको स्मृतिमा मंगलबार सातवटै प्रदेश तथा केन्द्रमा कार्यक्रमको आयोजना गर्यो । मंगलबारनै इलाममा आयोजित कार्यक्रममा सुवास नेम्वाङका कान्छा छोरा सुहाङ पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै इलामेली जनताले दिएको साथ समर्थनका लागि धन्यवाद मात्र दिएनन्, बाबुको विरासत धान्न राजनीतिमा आउने संकेत समेत गरेका छन् ।

केहिदिनअघि एमाले नेताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुग्दा आभार प्रकट गर्दै सुहाङले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

सुहाङले यस्तो बताएपनि नेकपा एमालेको इरादा केहि फरक देखिएको छ । एमालेले सुहाङ होइन, २ बर्ष अघि पार्टी फुटाएर अलग्गिएका झलनाथ खनाललाई टिकट दिएर उम्मेदवार बनाउने तयारी थालेको बताईएको छ ।

नेकपा एकिकृत समाजवादीभित्र पछिल्लो समय चर्को असन्तुष्टी जनाइरहेका झलनाथलाई पार्टीमा फर्काउने प्रयासस्वरुप चुनावको टिकट दिने रणनीति एमालेले बनाएको हो ।

झलनाथलाई भित्र्याउन सके उनिसहित अधिकांस केन्द्रीय सदस्य र एकिकृत समाजावादीका १० मध्ये ७ जनासम्म सांसद एमाले फर्किने विश्वास एमालेको छ ।

पार्टि विभाजनपछि एमाले अध्यक्ष केपी ओलीसँग पानी बाराबारको अवस्थामा रहेका नेता खनाललाई एमालेले मंगलबार आयोजना गरेको सुवास नेम्वाङको स्मृतिमा सुवास र संविधान विषयक प्रवचन कार्यक्रममा आमन्त्रण गर्यो ।

खनालले हार्दिकताका साथ कार्यक्रममा सहभागिता जनाए । विभाजनपति सम्भवत पहिलो पटक एमाले अध्यक्ष केपी ओलीसँग एउटै मञ्चमा एउटै सोफामा हार्दिकताका साथ बसिरहेको देखिएका थिए ।

विचलित भइरहेको नेकपा एकिकृत समाजवादीमा चर्को असन्तुष्टी देखिइरहेका बेला एमालेले टिकटको प्रलोभन देखाएर सम्मानीत नेता खनाललाई नै आकर्षण गर्ने जाल बुनेको छ ।

सुन्दा अनोठो लागेपनि एमालेको यो कसरत सफल हुने सम्भाना उत्तिकै बलीयो देखिएको छ ।

कांग्रेस र माओवादीसँग गठबन्धन गरेर अगाडी बढिरहेको एकिकृत समाजवादिभित्र झलनाथ खनाल असन्तुष्ट रहँदै आएका छन् ।

स्थानीय निर्वाचन, संघको निर्वाचनमा एकिकृत समाजवादी नराम्ररी पराजित हुँदा खनाल स्वयं प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी हारेका थिए ।

त्यसयता कांग्रेससँगको सहकार्य नफापेको बताउँदै झलनाथले बरु एमालेसँगै सहकार्य गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

पछिल्लो समय नेकपा एकिकृत समाजवादीमा अध्यक्ष नेपालसँग झलनाथको असन्तुष्टी चुलिँदै गएको छ । यसका लागि खनाल नेपालको पछिल्लो शक्ति संघर्षका बारेमा थोरै चर्चा गरौँ ।

भाद्र ५ देखि ७ गतेसम्म बसेको छैटौँ केन्द्रीय कमिटी र १७–१८ गते बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागि जारी गत भदौ २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशीका जारी गर्यो ।

केन्द्रीय कमिटी र सचिवालय बैठकभन्दा बाहिर गएर अपानी जारी गरेको भन्दै अध्यक्ष नेपालप्रति झलनाथले आगो ओकल्दै आएका छन् ।

अध्यक्ष नेपालले भाद्र २८ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा आफु निकट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । छैटौँ केन्द्रीय कमिटी बैठकमा जबजलाई बोकेर जाने माधव नेपालको प्रस्तावप्रति खनालले तीब्र असन्तुष्टी जनाएका थिए ।

हालको कांग्रेसँगको गठबन्धन सरकारबाट बाहिरिनुपर्ने भन्दै खनाल समुहले अध्यक्ष नेपाललाई ¥याख¥याख्ती पारेका थिए ।

एकिकृत समाजवादीले आगामी पुसमा महाधिवेशनको तयारी गरेको छ । महाधिवशेनमा आफैँ अल्पमतमा पर्ने देखिएपछि अध्यक्ष नेपाल अहिले तनावमा देखिएका छन् ।

पार्टीमा आफ्नो शक्ति विस्तारकै लागि भर्खरै पार्टीमा प्रवेश गरेकालाई समेत नेपालले जिम्मेवारीमा तानेका छन् ।

अनेरास्ववियुको अध्यक्षबाट बिदा भएलगत्तै सुदेश पराजुली केन्द्रीय सदस्य मनोनित हुँदा उनिसँगै बिदा भएका उपाध्यक्ष ओसिम आलम मनोनित भएनन् । अध्यक्षले एकलौटी ढंगले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै खनाल अझ चिढिएका छन् ।

यसरी पार्टीमा चर्को अन्तरसंघर्षका बेला खनालको एमाले फिर्ता हुने विषय असम्भव नरहेको नेताहरुले बताउने गरेका छन् ।

खनाल आउँदा उनीसँगै ठुलो समुह एमाले भित्रिने हुँदा इलाममा टिकट दिएरै भएपनि उनलाई फकाउने प्रयास एमाले नेताहरुले थालेका छन् ।

खनाल राजी भए नेम्वाङका छोरा सुहाङलाई एमालेले कसरी थमथम्याउला, त्यो भने चासोको विषय हुने छ ।

२०५६ को निर्वाचनबाट लगातार निर्वाचित हुँदै आएका नेम्वाङका ठाउँमा सहानुभूतिका लागि पनि उनका छोरालाई इलामेली जनताले पत्याउने आधार भने बाँकी छ ।

तर इलामबाट एमालेकै उम्मेदवारसँग पराजित भएका खनाललाई जनताले कति पत्याउँछन् वा पत्याउँदैनन्, त्यो भने उनी उम्मेदवार बने देखिएला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!