स्वर्गीय मायालुलाई अदालतले दिएको थियो यस्तो आदेश

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ | क्यान्सर रोगबाट पीडित रहेका पूर्वमन्त्री एवं गणतन्त्रको आवाज उठाउने अग्रणी नेता खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । काठमाडौंको बीर अस्पतालमा उपचारको क्रममा रहेका नेता भट्टको बिहीबार राती निधन भएको हो । 

डडेलधुरामा जन्मिएका भट्ट २०४२ सालमै गणतन्त्रका लागि आवाज उठाउने नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको आरोप उनीमाथि थियो ।  रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले बम विस्फोट गराएपछि तत्कालीन समयमा नेपाली कांग्रेसले पञ्चायत विरुद्ध सुरु गरेको सत्याग्रह पनि स्थगित गरेको थियो । 

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । नेपाली कांग्रेसको राजनीतिमा लागेपछि सांसद र मन्त्री दुवै भएका थिए ।  त्यसपछि उनी चुनाव लडेनन् । पछि उनी नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए । सुरुमा काँग्रेस पृष्ठभूमिका उनले २०३० सालतिर रामराजाप्रसाद प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा निर्माण गरेका थिए । तर उनी २०५३ सालमा फेरि नेपाली काँग्रेसमै फर्किएका थिए । 

२०४२ सालमा बम पड्काएपछि उनी विरुद्ध अदालतमा परेको मुद्धामा यस्तो आदेश भएको थियो ।

आदेश

प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।

२.मेरा पति भोजराज भट्ट २०४१ साल आश्विनमा स्वर्गे हुनु भयो । आफ्नो दाइजो पेवाबाट जग्गा जमीन बर्दिया जिल्लामा आर्जन गरी आएको छु । आफ्नो जग्गा कृषि विकास बैंकमा धितो राखी ऋण लिई मे.अं. १०५ नं. को बेलारस ट्रेक्टर २०३५ सालमा खरीद गरें । सो ट्रेक्टर कसैको हक हिस्सा नभई मेरो एकलौटी हो । मेरा भिन्न बसेको जेठा छोरा खेमराज भट्ट र म समेत आधी आधी साझेदारीमा खेमराज पार्वती राइस आयल मिल जिल्ला बर्दिया गाउँ पञ्चायत दौलतपुर वडा नं. ७ मा छ । सो मिललाई अबिलम्ब बन्द गरी लाहाछाप लगाई खबर गर्ने र निज वा निजको परिवार कसैको नामको ट्रेक्टर कागज ब्लूबुक भए तुरुन्त खिची थानामा राखी जाहेर गर्नु भन्ने जिल्ला कार्यालय बर्दियाको एस.एन. ५४४ नं.डि.टि.ओ. २७१३२० को एम.जि.आ.बा. आदेश थानामा प्राप्त हुन आएकोले राइस आयल मिल र ट्रेक्टर तथा सो को ब्लूबुक समेत जिम्मा दिई मिल बन्द गर्न दिन हुन सूचीत गरिन्छ । भनी निमित्त थाना इन्चार्ज प्र.स.नि. श्री टेकबहादुर थापाले सही गरी मलाई मिति २०४२।३।२७ गते पत्र बुझाई मेरो मिल बन्द गरी ट्रेक्टर र ट्रोली पनि थानामा लैजानु भयो । प्र.जि.अ. समेतलाई सोद्धा मिल बन्द हुने ट्रेक्टर ट्रोली जफत हुने कारण भन्न हुँदैन भनी जवाफ दिनु भयो ।

३.जिल्ला कार्यालय बर्दिया प्रहरी थाना राजापुरको उक्त काम कारवाहीबाट नागरिक अधिकार ऐन, २०१२ को दफा ६ को उपदफा ६, ७ अन्तर्गतको कानुनी अधिकार तथा नेपालको संविधानको धारा १०, ११(२)(ङ) तथा १५ अन्तर्गतको संवैधानिक अधिकार हनन् भएकोले उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी जिल्ला कार्यालय बर्दिया तथा प्रहरी थाना राजापुरको आदेशहरू बदर गरी मिल खोली ट्रेक्टर फिर्ता दिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने निवेदन जिकिर ।

४.विपक्षीबाट लिखित जवाफ लिई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४२।६।६ को आदेश ।

५.ट्रेक्टर एकलौटी हुन पर्ने कुराको सबूद प्रमाण पेश गर्नु भएको छैन, दावी आधारहीन छ । राइस मिल निवेदीका समेतको साझेदारी रहेको कुराको प्रमाण दिन सक्नु नभएबाट निवेदन जिकिर झुठ्ठा छ । निवेदीकाको छोरा खेमराज मायालु २०४२ साल आषाढ ५, ६ गतेमा देशमा घटेको विध्वंशात्मक कारवाहीमा संलग्न भएको विशेष शुत्रबाट बुझिएको र निज फरार भई गएकोले कारवाहीको सन्दर्भमा विध्वंशात्मक ऐन, बमोजिम निजको सम्पत्तिसम्म रोक्का गर्ने आदेश भएको हो । तर निवेदीकाको एकलौटी सम्पत्तिमा रोक लगाइएको छैन । निवेदीकाको उजूर गर्ने हकदैया नपुग्ने हुँदा रिट निवेदन  खारेज हुन अनुरोध छ भन्ने समेत प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय बर्दियाको लिखतिजवाफ ।

६.खेमराज पार्वती राईस आयल मिललाई तुरुन्त बन्द गरी निजको वा परिवार कसैको नामको टेक्टर र कागजात ब्लूबुक खिची थानामा राखी जाहेर गर्नु भन्ने जि.का. बर्दियाको आ.बा. आदेश प्राप्त भई नि. थाना इन्चार्ज २०४२।३।२७ गते खटिई सो सम्बन्धी सूचना मिल मालिक पार्वती भट्टलाई दिई मिल बन्द गरी गा.पं.स. समेतले गरिदिएको मुचुल्का भे.अं. १०५ नं. को ट्रली सहितको टेक्टर कागजात समेत थानामा ल्याई राखी सो को मिति २०४२।३।२९ को आ.बा. द्वारा जि.का. बर्दिया समेतमा दिएको भन्ने प्रहरी थाना राजापुर बर्दियाको लिखित जवाफ।

७.सम्पत्ति रोक्का राखेको सम्बन्धी मिसिल झिकाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको आदेश ।

८.मिति २०४२।३।६ गते बम बिस्फोटन पश्चात कारवाहीको सन्दर्भमा पछि सम्बन्धित अदालतबाट फैसला भए बमोजिम हुने गरी मिति २०४२।३।२५ मा यस मन्त्रालयबाट अवैध जनवादी मोर्चाका मुख्य नाइके मध्येका भारत निर्बासित खेमराज मायालुको घर जग्गा बेचबिखन नामसारी गर्न नपाउने गरी रोक्का राख्नु भनी भेरी अञ्चलाधीश, बर्दिया का प्र.जि.अ. लाई निर्देशनसम्म दिएको हो । निज खेमराज मायालुलाई सर्वस्वसहित आजीबन कैद हुने गरी सम्बन्धित अदालतबाट मिति २०४४।२।१४ गते फैसला समेत भएको बुझिएको र निज खेमराजका नाममा रहेको पार्वती राईस मिल बन्द गरी भे.अं. १०५ नं. ट्रेक्टर सुरक्षित बर्दिया जिल्लाको राजापुर थानामा राखिएको भन्ने समेत गृहमन्त्रालयको प.स.शा.सु.०४४।०४५ च.नं. ३४४ मिति २०४४।४।२० को पत्र प्राप्त हुन आएको व्यहोरा जानकारीको लागी अनुरोध छ, भन्ने समेत महान्यायाधिवक्ताको कार्यालयको प.सं. ०४४।०४५ क ५ रिट १६०६।१५८ मिति २०४४।६।२७ को पत्र ।

९.रिट निवेदीकाका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले निवेदीकाको छोरा खेमराज भिन्न भएको छोरा हुन निवेदीकाको एकलौटी हकको सम्पत्ति रोक्का राखेको जिल्ला कार्यालय र प्रहरी थानाको काम कारवाही त्रुटिपूर्ण हुँदा बदरभागी छ, भन्ने समेत र प्रत्यर्थी तर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायधिवक्ता श्री जीत बहादुर कार्कीले कारवाहीको सन्दर्भमा सम्पत्ती रोक्का रहेको हो । अदालतको फैसला कार्यान्वयन हुँदा छानबीन हुने नै हुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।


१०.प्रस्तुत रिट निवेदनमा निवेदीकाको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

११.यसमा निर्णयतर्फ हेर्दा रिट निवेदीकाका छोरा खेमराज मायालु उपर वा बम बिस्फोटन मुद्दा चली अदालतबाट सर्वस्वसहित आजीवन कैद हुने गरी २०४४।२।१४ गते फैसला भएको भन्ने गृह मन्त्रालयको प.सं.शा.सु. ०४४।०४५ च.नं. ३४४ मिति २०४४।४।२० गतेको पत्र प्राप्त हुन आएको महान्यायाधिवक्ताको कार्यालयको प.सं. ०४४।४५क ५।१६०६।१५८ च.नं. १९८१ मिति २०४४।६।२७ गतेको पत्रबाट देखिन्छ । रिट निवेदीकाको सम्पत्ति जफत हुने भन्ने कुरा प्रत्यर्थीहरूको लिखित जवाफबाट देखिँदैन । खेमराजको सम्बन्धबाट रोक्का रहेको भन्नेसम्म छ । रिट निवेदीकाको छोरा खेमराजको सर्वस्व जफत हुने भन्ने देखिन्छ । निज खेमराजको सर्वस्व लिलाम हुँदाका अवस्था रिट निवेदीकाको हक हिस्सा छुट्याउनु पर्ने हुन्छ । सो अवस्थामा रिट निवेदीकाले अवस्थानुसार उजूर गरी बदर गराउन सक्ने नै हुन्छ । रिट निवेदीका पार्वती र खेमराज आमा छोरा भन्ने विद्वान वरिष्ठ अधिवक्ताको कथन रहेको छ । रिट क्षेत्रबाट सबूद प्रमाणको मूल्याड्ढन गरी के कति भाग रिट निवेदीकाको र के कति भाग खेमराजको भनी छुट्याउन मिल्ने भएन । तसर्थ अदालतको अन्तिम फैसलाबाट   खेमराजको सर्वस्व सम्पत्ति लिलामको कारवाही हुँदा छुट्टिन सक्ने नै भएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्ने अवस्था रहेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु।

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

इतिसम्वत् २०४४ साल कार्तिक ३० गते रोज २ शुभम् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!