एनआरएनएको मतपरिणाम सार्वजनिक भएसँगै तनाव, बद्रि केसीले सिस्टम ह्याक गरेर जितेको दावी

Posted on: 20 Oct, 2023

कात्तिक ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तराष्ट्रिय सम्मेलनको मत परिणाम विवादित बनेको छ । एनआरएनएको मतपरिणाम सार्वजनिक भएर अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका थिए । 


तर मत परिणाम सार्वजनिक हुँदा कुनै उम्मेदवारको मत परिणामनै 'शुन्य' आएपछि मत परिणामनै विवादित बन्न पुगेको छ । शुन्य आउने उम्मेदवारले आफैले आफैलाई हाल्ने मत समेत 'काउन्ट' नभएको पाइएको भन्दै अनलाइन भोटिङ सिस्टम 'भेरो' मै चलखेल रहेको आरोप लगाइएको छ । यससंगै पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाई मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । यस क्रममा समर्थकहरुले चर्को नाराबाजी गर्दै अध्यक्षमा जितेका बद्रि केसीबिरुद्ध नारावाजी गरेका छन् । 

एनआरएनएको अनलाइन भोटिङ सिस्टम 'भेरो' मा अध्यक्ष उम्मेदवार बद्रि केसीको सेटिङ रहेको भन्दै कडा बिरोध जनाइएको छ । केसीले आफू जित्न गोलमाल गरेर नतिजा  प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनिहरुले भेरोमा भएको सेटिङलाई लिएर कानुनी लडाई लड्ने घोषणा गरेका छन् । 

अध्यक्ष उम्मेदवार महेश श्रेष्ठले 'भेरो' भोटिङमा चलखेल रहेको भन्दै त्यसको कानुनी उपचार खोजिने बताए । उनले भने 'अहिलेको निर्वाचन प्रक्रिया रद्द गर्नुपर्छ । यो नतिजा मान्य हुँदैन । आजको निर्वाचन नतिजामा 'फ्रड' भएको छ । यो  क्राइम हो । यो क्राइम माथि हामी अनुसन्धानको माग गर्छौं । यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो । 


'भेरो' भोटिङलाई लिएर यस अघि पनि जापान र अष्ट्रेलियामा बिबाद सृजना भएको थियो । 

यस्तो छ मत परिणाम 

अनलाइन 'भेरो' भोटिङ प्रणाली मार्फत ५९ देशका ४ हजार २ सयजनाले मतदान गरेपछि भएको भोटिङको सार्वजनिक मत परिणाम अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचनको मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा विनोद श्रेष्ठ १५६० मत ल्याएर निर्वाचित भएका छन्।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भएकि छन् । उनले यसमिन वेगम सैयदलाई पराजित गरेकी हुन् । त्यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भएका छन्।

संघको महासचिव पदमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए। यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० मतका साथ विजयी भएका छन्।

यस्तै ६ सचिव पदमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोज कुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, पारमणी पोखरेल १६५१ र स्वतन्त्र प्रताप शाह १६६६ मतका साथ विजयी भएका छन्।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका २३२०विजयी भइन्। उननले निकटम प्रतिस्पर्धी विमला सापकोटालाई पराजित गरेकी हुन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन्।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्।

यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!