बुटवल | रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।
गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी छ ।
लामिछाने तर्फका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालातर्फका वकिलले जबाफी बहस गर्नेछन् ।
त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् । सम्भवतः आज नै फैसला आउने सक्ने छ ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।