काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताए। तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उनले बताए ।
मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताए। उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे ।
सांसद कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुङ्गो नलागेकोप्रति आपत्ति जनाए ।