काठमाडौँ | रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी जिल्लाहरूमा फागुन २९ गते र तराईका जिल्लाहरूमा चैत १ गते मनाइने होली मनाइँदै छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म आकाश खुल्ने सम्भावना कम छ। “घाम र बादलको लुकामारी हुने देखिन्छ। टलक्क घाम लाग्ने अवस्था छैन,” उनले भनिन्।
उनका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको असर देखिएको छ। यही कारण देशभर बादल लागेको हो। यद्यपि, प्रणाली कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मानन्धरले बताइन्।
मौसमविद मानन्धरका अनुसार अनुसार कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशमा अघिल्ला दिनहरूझैँ बादल लाग्ने छ। पानी पर्ने सम्भावना भने न्यून छ। गण्डकीभन्दा पश्चिमका क्षेत्रमा पनि बादल लाग्ने भए पनि ठूलो वर्षा हुने संकेत देखिएको छैन।
काठमाडौं उपत्यकामा आकाश धुम्म हुने र कतैकतै हल्का पानी पर्ने सम्भावना छ। “सबै ठाउँमा एकनासको पानी पर्ने जस्तो देखिँदैन। विशेषगरी उपत्यकाको उत्तरी भागमा छिटफुट पानी पर्ने सम्भावना छ, हिजो–अस्तिजस्तै कतैकतै छिट्याउने खालको पानी पर्ने जस्तो देखिन्छ,” मानन्धरले भनिन्।
अहिलेसम्मको विश्लेषणअनुसार आगामी तीन दिनसम्म यस्तै मौसम रहनेछ। अर्को साताबाट भने सुधार हुने संकेत देखिएको छ।