काठमाडौँ | ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरमा फेला परेका छन्।
प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउद बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए। बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकोले उपचारका लागि पाटन अस्पताल लगिएको थियो।
अस्पतालको शौचालय छिरेका साउद झ्यालबाट भागेका थिए। उनलाई बिहीबार राति प्रहरीले फेला पारी काठमाडौं ल्याउँदै गरेको एसएसपी अधिकारीले जानकारी दिए।
‘नाकानजिकै एक जना आफन्त रहेछन्। त्यहाँबाट फेला परेका हुन्। उनलाई ललितपुर ल्याउने काम भइरहेको छ,’ उनले भने, ‘धनगढीबाट जहाजमा ल्याउँदैछ।’
साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ। सो आरोपमा उनी १८ दिन हिरासतमा बसेका थिए।
कसरी पुगे कञ्चनपुर?
बुधबार मध्याह्नतिर साउदलाई अस्पताल पुर्याइएको थियो।
उपचारका लागि भनेर लगिएका साउदले शौचालय जानुपर्यो भनेर प्रहरीलाई भनेका थिए। त्यसपछि प्रहरीले उनको हतकडी खोलिदिए। तर प्रहरीले शौचालयभित्र रहेको झ्याल र अन्य अवस्थाबारे नहेरेको एसएसपी अधिकारीले बताए। ती प्रहरीको कमजोरीबारे छानबिन भइरहेको उनले बताए।
लामो समयसम्म पनि उनी शौचालयबाट बाहिर नआएपछि प्रहरीले शौचालय हेर्दा उनी त्यहाँ थिएनन्। शौचालयबाट थुनुवा भागेपछि प्रहरी वृत्त सातदोबाटो हुँदै जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी अधिकारीसम्म रिपोर्टिङ भयो।
प्रहरीले सिसिटिभी फुटेजबाट अनुसन्धान थाल्यो। सुरूमै उनले राइड सेयरिङ एपको प्रयोग गरेको एसएसपी अधिकारीले बताए।
‘उनीसँग १०००/१२०० जति पैसा गोजीमा रहेछ। त्यहाँबाट भाग्ने बित्तिकै एउटा स्कुटरमा चढेको देखिन्छ,’ उनले भने, ‘पठाओ गरेर उनी कलंकी गएका थिए। त्यो स्कुटरलाई हामीले त्यही दिन समाएर सोधपुछ पनि गर्यौं।’
कलंकीमा साथीको होटलमा समेत छिरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। साथीसँग दुई हजार रुपैयाँ मागेर उनी हिँडेका थिए। कलंकीबाटै साउदले अर्को पठाओ गरेर नागढुंगा पुगेका थिए।
प्रहरीले पनि उनी पश्चिमतिर जानसक्ने अनुमान गरी खोजी गरिरहेको थियो। पश्चिम जाने गाडीहरूमा पनि जाँच गर्ने काम गरिरह्यो। तर उनी फेला परिरहेका थिएनन्।
‘गाडीमा जाँच गर्छ भनेर पठाओमै उनी नागढुंगासम्म पुगेको देखियो। नागढुंगाबाट पश्चिम जाने गाडीहरूमा खोज्दै थियौं। तर उनले पूर्वतिर जाने गाडी चढे,’ उनले भने। प्रहरीले भने पूर्व जाने गाडीमा जाँच नै गरेको थिएन। नागढुंगाबाट पूर्व जाने गाडी चढेर उनी गैंडाकोट पुगे। त्यहाँबाट उनले कञ्चनपुरको गाडी चढेर गएका थिए।
साउद भागेपछि प्रहरीले सम्भावित व्यक्तिहरूलाई फोन गर्न सक्ने अनुमान पनि गरेको थियो। त्यसअनुसार प्राविधिक रूपमा पनि विश्लेषण तथा अनुसन्धान गरिरहेको एसएसपी अधिकारीले बताए। बिहीबार दिउँसो १ बजेतिर उनी कञ्चनपुर पुगे। त्यहाँबाट उनले रिक्सा चढेर आफन्तको घर गएका थिए।
‘रिक्सामा चढेर उनी आफन्तको घरमा पुगे। त्यसअघि उनले एक जनालाई फोन गरेका छन्,’ एसएसपी अधिकारीले भने, ‘उनले फोन गरेको थाहा पाएपछि हामीले त्यो रिक्सावालालाई फेला पार्यौं।’
प्रहरीले रिक्सा चालकलाई पनि सोधपुछ गरेको थियो। सोही चालकसँगै साउदलाई पुर्याएको घरमा प्रहरी पुग्यो। आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो।