११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

११ पुष २०८२, शुक्रबार १७:२८

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग गरेको चारवटा अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसम्बन्धी थप अभियोगहरूको फैसलाको प्रक्रिया जारी रहेको जनाइएको छ ।

अभियोजन पक्षका अनुसार नाजिबले १एमडिबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गर्नुभएको थियो । नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र लो टेक झो नेतृत्वका दुष्ट वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गर्नुभएको छ । तर घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार अवस्थामा छन् ।

न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले नाजिबको साउदी अनुदानसम्बन्धी दाबी ‘विश्वास गर्न नसकिने’ रहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार साउदी दातासँग सम्बन्धित प्रस्तुत गरिएका चारवटा पत्र नक्कली थिए र प्रमाणहरूले स्पष्ट रूपमा रकम १एमडिबीबाटै आएको देखाएको छ । साथै, नाजिब आफू ठगिएको निर्दोष व्यक्ति भएको भन्ने प्रतिरक्षाको तर्क पनि अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीशले नाजिब र लो टेक झोबीचको ‘घनिष्ठ र अटुट सम्बन्ध’ रहेको उल्लेख गर्दै लोले १एमडिबीमा नाजिबका लागि प्रतिनिधि, मध्यस्थ र सहजकर्ताको भूमिका खेलेको टिप्पणी गर्नुभयो । उहाँले नाजिबले ठूलो रकमको स्रोतबारे जाँच नगरेको, शङ्कास्पद रकम प्रयोग गरेको र अनुसन्धान गरिरहेका तत्कालीन महान्यायाधिवक्ता तथा भ्रष्टाचारविरोधी प्रमुखलाई हटाएर आफ्नो पद जोगाउने प्रयास गरेको पनि उल्लेख गर्नुभयो ।

“अभियुक्त कुनै अनजान ग्रामीण व्यक्ति होइनन्”, न्यायाधीश सेक्वेराहले भन्नुभयो, “उहाँलाई चारैतिर भइरहेको गम्भीर कुकर्मबारे अनभिज्ञ देखाउने प्रयास पूर्ण रूपमा असफल हुन्छ ।”

सुनुवाइका क्रममा नीलो सूट लगाउनुभएका नाजिब शान्त देखिनुभएको थियो र कहिलेकाहीँ नोटबुकमा लेखिरहनुभएको थियो । सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहनुभएका नाजिब यसअघि नै १एमडिबीसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहनुभएको छ । उक्त घोटालाकै कारण सन् २०१८ को चुनावमा उहाँको सरकार पराजित भएको थियो ।

सन् २०२० मा उहाँलाई शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लन्ड्रिङको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, जुन सजाय अगस्ट २०२२ देखि कार्यान्वयनमा आएको हो । त्यससँगै नाजिब जेल जाने मलेसियाका पहिलो पूर्वप्रधानमन्त्री बन्नुभएको थियो । पछि क्षमादान बोर्डको सिफारिसमा उहाँको सजाय आधा गरिएको र जरिवाना घटाइएको थियो ।

नाजिबले सन् २००९ मा प्रधानमन्त्री बनेपछि १एमडिबी विकास कोष स्थापना गर्नुभएको थियो र त्यसको सल्लाहकार बोर्डको अध्यक्षतासमेत रहनुभएको थियो । यही कोषसँग जोडिएको भ्रष्टाचार काण्ड विश्वव्यापी रूपमा फैलिएको थियो । अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २००९ देखि २०१४ को बीचमा करिब चार अर्ब ५० करोड डलर कोषबाट लुटपाट गरिएको थियो, जसलाई विभिन्न देशमार्फत धनशोधन गरिएको थियो । उक्त रकम हलिउड फिल्म, लक्जरी होटल, याट, कला र गहनामा खर्च गरिएको आरोप छ ।

यसै काण्डका कारण गोल्डम्यान स्याक्सले अर्बौं डलर जरिवाना तिर्नुपरेको थियो । लामो समयसम्म शक्तिशाली राजनीतिक परिवारका सदस्यका रूपमा अछुत मानिनुभएका नाजिब १एमडिबी घोटालापछि जनआक्रोशको केन्द्रमा आउनुभएको हो ।

यस हप्ता नाजिबले नजरबन्दमा सजाय पूरा गर्ने प्रयाससमेत असफल भएको थियो । अदालतले शाही आदेश संवैधानिक मापदण्डअनुसार नभएको ठहर गरेपछि उहाँ अझै लामो समय जेलमै बस्नुपर्ने सम्भावना बढेको छ । नाजिबकी पत्नी रोसमाह मन्सोर पनि छुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजायको सामना गरिरहनुभएको छ, यद्यपि उहाँ हाल अपिलको प्रतीक्षामा जमानतमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति