सरकार समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई

Posted on: 23 Nov, 2019

मङ्सिर ७, राँझा | रासस | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताउनुभएको छ । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उहाँले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गर्नुभयो । 

सरकारको नारालाई देश विदेशमा पु¥याउन नेपालगञ्ज म्याराथनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताउनुभयो ।

शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उहाँको भनाइ थियो । नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताउनुभयो ।

नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७०० जनाभन्दा बढी सहभागि भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरुआत गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याराथनमा प्रथम हुनेलाई रु.६५ हजार, दोस्रो हुनेलाई रु. ३५ हजार र तेस्रो हुनेलाई रु.२५ हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई रु.३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु.२० हजार र रु.१० हजार प्रदान गरिने छ । नेपालगञ्जको वीपीचोकबाट शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!