११ मध्ये ९ उपमहानगरकाे चुनावी नजिता सार्वजनिक : कुन ठाउँमा कसको जित?

Posted on: 22 May, 2022

जेठ ८, काठमाडौँ | देशका ११ उपमहानगरपालिकामध्ये ९ उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । जनकपुर र तुल्सीपुरबाहेक अन्य सबै उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । चुनावी नतिजा सार्वजनिक भएका उपमहानगरपालिकाहरूमा इटहरी, कलैया, जीतपुरसिमरा, हेटाैँडा,  बुटवल, घाेराही, नेपालगञ्ज  धनगढी र धरान छन् ।

९ मध्ये ५ वटामा गठबन्धनकाे जित भएकाे छ भने २ वटा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले लिएकाे छ । यस्तै धनगढीमा र धरानमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल र हर्कराज राईले जितेका छन् । 

धनगढीमा गाेपाल हमालले गठबन्धन र एमाले दुवैलाई चुनाैती दिँदै जित निकालेका हुन् । गाेपालले गठबन्धनका उम्मेदवार नृपबहादुर वड भन्दा १२ हजार ४८ बढी मत ल्याए । गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका नृपबहादुर १४ हजार ८ सय १७ मतमै सीमित भए ।

त्यहाँ एमालेकाे तर्फबाट उम्मेदवार बनेका रणबहादुर चन्दकाे पक्षमा ४ हजार ९ सय १४ मात्रै मत देखियाे । यसपटक महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलहरू (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा) गठबन्धनकै रूपमा हाेमिएका थिए । यसपछि गठबन्धनले ८ मध्ये ५ ठाउँमा जित निकाल्न सफल भएकाे हाे । अब चुनावी नतिजा सार्वजनिक हुन ३ वटा उपमहानगरपालिका छन् ।

एमालेले बाराकाे कलैया र दाङकाे घाेराही उपमहानगरपालिका हाे । कलैयामा एमालेका उम्मेदवार विनाेदप्रसाद साह निर्वाचित बनेका छन् । उनले २४ हजार १ सय ३९ मत बटुल्दै मेयरमा बाजी मारे । उनले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता राजेशराय यादवलाई ५ हजार ५ सय ९९ मतले हराए । यादवकाे पक्षमा बल्लबल्ल १८ हजार ५ सय ४० मत मात्रै खस्याे ।

घाेराहीमा पनि एमालेकै नेरुलाल चाैधरी निर्वाचित भए । उनी ३१ हजार ७ सय २८ मतसहित मेयरमा निर्वाचित हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता हेमराज शर्मा पाेख्रेलले २६ हजार ३ सय ६८ मतै खुम्चिनुपर्‍याे । नेरुलाले हेमराजलाई ५ हजार ३ सय ६० मतले पछाडि पारे ।

यसबाहेक अन्य ५ उपमहानगरपालिकामा भने गठबन्धनले जित निकालेकाे छ ।

सुनसरीकाे इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले जितेकाे छ । त्यहाँ कांग्रेस नेता हेमकर्ण पाैडेल मेयरमा निर्वाचित भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चाकाे सहयाेगमा पाैडेलले ३३ हजार ४९ मत ल्याएर मेयरमा निर्वाचित भए । उनले एमालेका यामकुमार चुम्बाङलाई ५ हजार १८ मतले पछाडि पारे । त्यहाँ यामबहादुरकाे २८ हजार ३१ मत खस्याे ।

त्यहाँ राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार आकाशहाङ लिम्बुले ३ हजार ६ सय ४४ मत पाए ।

यस्तै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१  मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गरे । त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

उता बारकाे जीतपुरसिमरा उपमहानगरपालिकामा पनि गठबन्धनकाे तर्फबाट माओवादी केन्द्रका नेता राजन पाैडेल मेयरमा निर्वाचित भए । राजन १३ हजार ४ सय ८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सरस्वतीदेवी चाैधरीले १२ हजार ५ सय ८० मत प्राप्त गरिन् । सरस्वतीदेवी राजनभन्दा ९ सय ७ मतले पछाडि परिन् ।

त्यहाँ महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सञ्जयकुमार साहले २ हजार ५ सय ५८ मत पाए ।

यस्तै हेटाैँडाकाे हेटाैँडा उपमहानगरपालिकामा पनि गठबन्धनले नै बाजी मारेकाे छ । त्यहाँ एकीकृत समाजवादीकी नेतृ मीनाकुमारी लामा निर्वाचित भइन् । उनकाे पक्षमा २३ हजार ७५ मतदाताले मतदान गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पाैडेलले पनि २० हजार ९ सय ८ मत पुर्‍याए । अनन्तप्रसाद मीनाकुमारीभन्दा २ हजार १ ६७ मतले पछाडि परेका हुन् ।

त्यहाँ राप्रपा पनि एमालेकै दाँजाेमा दह्राे देखिएकाे छ । राप्रपाका तर्फबाट उम्मेदवारी दिएका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत बटुलेका छन् । याे भनेकाे एमालेका अनन्तप्रसादकाे भन्दा ३ सय ७७ मतमात्रै कम हाे ।

रुपन्देहीकाे बुटवल उपमहानगरपालिकामा पनि गठबन्धनकै जित भएकाे छ । त्यहाँ कांग्रेस नेता लेखराज पाण्डेय निर्वाचित भएका छन् । उनले ३० हजार १ सय ३० मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९५ मत पाए । उनी लेखराजसँग ७ हजार ५ सय ३२ मतले पराजित भए ।

यस्तैगरी बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेस नेता प्रशान्त विष्ट निर्वाचित बने । उनी पनि गठबन्धनकै तर्फबाट निर्वाचित बनेका हुन् । उनले २३ हजार ४ सय ६० मत पाउँदा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।प्रशान्तकाे याे मत दयालकाे भन्दा ११ हजार ७ सय ८५ मतले बढी हाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!