काठमाडौं महानगरका मेयर बालेन शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस्

Posted on: 23 Jun, 2022

असार ९, काठमाडौँ  | गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । 

मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 


संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए ।

त्यस्तै, गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरे ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए । 

भेटको क्रममा मेयर शाहले काठमाडौंको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरेका थिए । त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न पनि उनले आग्रह गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!