सिराहामा मध्यराति बम पड्काएर लुटपाट, बमको छर्रा लागेर ५ जना घाइते

Posted on: 14 May, 2024

जेठ १, सिराहा  । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले हरिचोकमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । 

लहान नगरपालिका –१७ हरिचोकमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए ।  


उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट  लुटपाट भएको हो ।

अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र अन्य सामान लुटेर भागेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् । 

हतियारधारी समूह भारतीय रहेको प्रहरीले जनाएको छ । घटनापश्चात् लुटेरा समूहको खोजीमा तीव्रता दिइएको प्रहरीले जनाएको छ । 

लुटपाट गर्न पड्काइएको बमको छर्रा लागेर ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको  लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!