२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

२०७९, ८ चैत्र बुधबार ०३:३५

चैत ८, गलकोट | काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुंडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुश्किल पर्छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ ।

पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ । यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आउनुभएको छ ।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरुपमा गर्न थालेको विश्वकर्मा बताउनुहुन्छ । “धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु”, उहाँले भन्नुभयो । बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ  । गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपर्नुभएको छ । उहाँसँगै  कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लाग्नुभएको छ ।

कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिनुभएको छ । विश्वकर्माको जीवन काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उहाँ बताउनुहुन्छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवान्का आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत हुनुभएको हो । हाल रु आठ लाखमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवान्का आकृति तयार गरिराख्नुभएका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताउनुभयो ।

विश्वकर्मासित काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान छ । उहाँले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आउनुभएको छ । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो”, उहाँले भन्नुभयो–“अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु ।”

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए । गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उहाँकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ । कालिका मन्दिरको मुख्यद्वार नजिकै  बुवाको नाम देखाउँदै उहाँले भन्नुभयो । “काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु”, उहाँले भन्नुभयो । पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उहाँले बताउनुभयो । 

सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ । कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उहाँको ठम्याइ छ । पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ । घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उहाँ बताउनुहुन्छ । कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । विश्वकर्माले कलात्मक ढङ्गले कँुदिएको ढोकालाई अहिलेको बजारभाउ रु एक लाख ८० हजार पर्ने बताउनुभयो । उहाँले पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताउनुभयो । उहाँले काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएको समेत सुनाउनुभयो । अहिले काष्ठकलाबाट जीवन गुजरामात्रै चलाउन ठिक्क भएको बताउनुभयो ।

“कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने  खाली हात बस्नुपर्ने बाध्यता हुन्छ”, विश्वकर्माले भन्नुभयो । उहाँले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौँ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण