बैँकको ९ लाख रुपैयाँ रकम लुटेको आरोपमा तीन जना पक्राउ

Posted on: 27 Mar, 2023

चैत १३, जनकपुरधाम | ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ रकम लुटेको आरोपमा सिरहामा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका- १३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ वि.क, सोही नगरपालिकाको वडा नं. १९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्य नारायण मण्डल र कल्याणपुर नगरपालीका वडा नं. ८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्यामकुमार यादवलाई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले गत बिहीबार दिउँसो सिरहा नगरपालिकास्थित हेमनारायण चोकबाट लुटपातमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर‍प्रसाद चौधरीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई शरीर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत फागुन १० गते दिउँसोको समयमा मिर्चैया नगरपालिका- ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आइएमई बैंकको शाखा कार्यालय कल्याणपुरका कर्मचारीले मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रकम निकाली कल्याणपुर शाखातर्फ लैजाने क्रममा दुई वटा मोटरसाइकलमा आएका ४ जनाले पेस्तोल देखाइ रकम लुटेर फरार भएका थिए।

फरार रहेका चार मध्ये एक जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!