२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध

२०७९, १९ चैत्र आईतवार ०४:५४

चैत १९, काठमाडौँ | सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् ।

सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर–५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताउनुभयो । “सडक कालोपत्रको काममा लापरबाही गरिएको छ”, उहाँले भन्नुभयो, “कामलाई गुणस्तरीय ढङ्गले गर्न भन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्रा हालेको अवस्था छ ।”

सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरीकनै कालोपत्र थालिएको उहाँले बताउनुभयो । कालोपत्र गर्नुअघि बिछ्याएको बेससमेत गुणस्तरहीन रहेको उहाँको भनाइ छ । “राज्यको पैसाको दुरुपयोग भएको छ । निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम अघि बढाएको देखिन्छ”, उहाँले भन्नुभयो, “निर्माण क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्र थालिएको छ । बिछ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ । यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौँ ।”

स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासनले उक्त सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जीनियरसहित सडक अनुगमनमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा स्थानीयवासीले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उहाँले बताउनुभयो । “काम गुणस्तरहीन भएको स्थानीयवासीको गुनासोपछि मैले दुईपटक अनुगमन गरेँ”, उहाँले भन्नुभयो, “अनुगमन गर्दा स्थानीयवासी भनेझैँ सडकमा राम्रो कम भएको देखिएन । राज्यको रकम सही ढङ्गले सदुपयोग हुनुपर्छ । स्थानीय नागरिकले उठाएको सवाल उचित छ । सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।”

अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोशित भएको जनाइएको छ । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ । 

निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायत मर्मत नगरी कालोपत्र हालेको देखिएको छ । कामलाई गुणस्तर तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इञ्जीनियरहरूले बताएका छन् । सवबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इञ्जीनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भनेजस्तो गुणस्तरहीन काम नभएको इञ्जीनियर आरएन सुवेदीले बताउनुभयो ।

“आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ”, उहाँले भन्नुभयो, “हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौँ । यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौँ ।”

सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत नेपाल सरकारको भ्याटसहित रु नौ करोड ७२ लाख १७ हजार पाँच सय ३४ लागतमा कालोपत्र थालिएको हो । रौताहा–रामसागर विल्डर्स जेभी काठमाडौँले २०७८ भदौमा सम्पन्न गर्ने गरी काम जिम्मा लिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण