बैशाख ६, काठमाडौं | नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ ।
यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश दिएको थियो । यसअघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाएको थियो। तर, जिल्लाको आदेशविरुद्ध उच्च पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएको थियो।