बैशाख ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि अन्तिम सुनुवाइ शुरू हुने सम्भावना कम बनेको छ ।
अझै एक जनाको बकपत्र बाँकी रहेको भन्दै पीडित पक्षले निवेदन दिएपछि सुनुवाइको सम्भावना कम बनेको हो । पीडितकी एक साथी अमेरिका गइसकेकाले उतैबाट भए पनि उसको बकपत्र गराउन माग गर्दै निवेदन परेको हो । भर्चुअल माध्यमबाट भए पनि बकपत्र गराउनुपर्ने उनीहरूको माग छ ।

‘खाजा ब्रेकभन्दा अगाडिका लागि सुनुवाइ रोकिएको छ । पीडित पक्षले एक जनाको बकपत्र बाँकी रहेको भन्दै निवेदन दिनुभएको छ,’ सन्दीप पक्षका अधिवक्ता मुरारी सापकोटाले भने, ‘अब ब्रेकपछि श्रीमानले के निर्णय गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ ।’
कानूनमा अनलाइन माध्यमबाट बकपत्र गर्न सक्ने व्यवस्था भएकाले अनलाइनबाटै भए पनि बकपत्र गर्नुपर्ने मागसहित निवेदन परेको हो । लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।