महोत्तरीको गौशालामा ९ राउण्ड हवाई फायर

Posted on: 24 Apr, 2023

वैशाख ११, काठमाडौँ । महोत्तरीको गौशालामा प्रहरीले १३ राउण्ड अश्रुग्यास र ९ राउण्ड हवाई फायर गरेको छ।  सोमबार गौशाला नगरपालिका-४ मल्हिनियाँ पोखरीमा स्थानीयले प्रहरी उपर ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बचाउका लागि हवाई फायर गरिएको हो। प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा घाइते भएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरी अवस्था सामान्य बनाइएको जनाएको छ।

अहिले अवस्था सामान्य छ। केही दिनअघि विष सेवनबाट मृत्यु भएकी स्थानीय आरती शाहलाई परिवारका सदस्यले हत्या गरेको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिला सञ्जालले आन्दोलन गरेको थियो।  प्रहरी स्रोतका अनुसार सो घटनाका मुख्य आरोपी मृतकका श्रीमान् उमेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि पीडित मृतककी माइती पक्ष र स्थानीय महिला सञ्जालले कारबाहीको माग गर्दै आज बिहानैदेखि आन्दोलन सुरु गरिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!