वैशाख १५, काठमाडौँ | अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवती पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्।

सयना समेतले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ३० लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ लाजिम्पाटबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।