वैशाख १८, काठमाडौँ | कपनस्थित सरस्वतीनगरमा ‘निरु किचेन’ नामक भाडा पसल थियो, निरा पाण्डे आचार्यको । पहिले श्रीमान् र श्रीमती मिलेर इलेक्ट्रोनिक पसल चलाएका भए पनि करि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १८, काठमाडौँ | कपनस्थित सरस्वतीनगरमा ‘निरु किचेन’ नामक भाडा पसल थियो, निरा पाण्डे आचार्यको । पहिले श्रीमान् र श्रीमती मिलेर इलेक्ट्रोनिक पसल चलाएका भए पनि करि"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निराको पसलसम्म कसरी पुगे हत्यारा ?

२०८०, १८ बैशाख सोमबार ०६:५७

वैशाख १८, काठमाडौँ | कपनस्थित सरस्वतीनगरमा ‘निरु किचेन’ नामक भाडा पसल थियो, निरा पाण्डे आचार्यको । पहिले श्रीमान् र श्रीमती मिलेर इलेक्ट्रोनिक पसल चलाएका भए पनि करिब ३ वर्षदेखि निरा आफैले अर्को छुट्टै भाँडाको पसल राखेकी थिइन् । बोल्नमा सिपालु र मिलनसार भएको कारण निराको व्यापार पनि राम्रै चलिरहेको थियो । मेहनतबाटै केही पैसा कमाएकाले निराले काठमाडौँमै घडेरी किन्ने भन्दै विभिन्न स्थानमा घडेरीसमेत हेरिरहेकी थिइन् । आफूसँग भएको केही रकम विभिन्न व्यक्तिहरुलाई ब्याजमा समेत लगाउने गरेकी थिइन् निराले । परिवार सबै ठीकठाक चलिरहेकै थियो ।

गत वैशाख ७ गते अन्य दिन झैँ निरा घरमा खाना खाएपछि घरधन्दा सकेर आफ्नो पसल खोल्न पुगिन् । उक्त दिन अन्दाजी एक बजेको समयमा निराले आफ्नो पसल खोलेको अनुमान गरिएको छ । तर पसल खोलेको करिब २ घण्टापछि अर्थात् करिब सवा तीन बजेको समयमा निराको पसलमा पुगेकी एक महिलाले निराको शव देखिन् । त्यसपछि हल्लाखल्ला भएपछि प्रहरी पुग्यो र घटनाको अनुसन्धान सुरु गर्‍यो ।

वैशाख ७ गते दिउँसो आफ्नै पसलमा भएको हत्यामा संलग्नको खोजी गरे पनि प्रहरीलाई कुनै सुराक पत्ता लाग्न सकेन । घटनाको अनुसन्धान गरेको प्रहरीले हत्यामा नजिककै आफन्त वा चिनेजानेको व्यक्ति नै हुनुपर्छ भनेर सुरुवाती अनुसन्धान त्यही सेरोफेरोमा केन्द्रित गर्‍यो । निराको हत्या हुँदा फाइदा पुग्ने व्यक्ति, निरासँगको आर्थिक कारोबार, रिसिइबी लगायतका विषयमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गर्‍यो । प्रहरीले निराको पसल वरिपरिको सीसीटिभी फुटेज, तथा प्रविधिसमेतको विश्लेषण गरी अनुसन्धानलाई अगाडि बढायो, यद्यपि हत्यामा संलग्न व्यक्तिको पहिचान भने हुन सकेन ।

घटनालाई प्रत्यक्ष देख्ने व्यक्ति नभएको, हत्यामा परिवार वा आफन्तको संलग्नता नदेखिनु, आर्थिक कारोबारको विषय पनि हत्यासँग जोडिएको नपाइएपछि प्रहरीले अनुसन्धानको अर्को पाटो केलाउन थाल्यो । त्यो के थियो भने कुनै लागूऔषध दुर्व्यसनीले सामान्य लुटपाटको उद्देश्यबाट घटना घटाएको हुनसक्ने आशंका ।

प्रहरीले त्यही कोणबाट अनुसन्धानको दोस्रो अध्याय सुरु गर्‍यो । सुरुवाती चरणमा प्रहरी वृत्त वौद्ध र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) र प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानका लागि प्रहरीहरु खटिए । पहिलो चरणको शंकितहरुको घटनामा संलग्नताको आधार भेटाउन नसकेपछि प्रहरीले दोस्रो चरणको अनुसन्धानको क्रममा लागूऔषध दुर्व्यसनीको पिछा गर्न थाल्यो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले सो क्षेत्रका सीसीटिभी फुटेजको अध्ययन सुरु गर्‍यो ।

सो क्षेत्रमा हिँडेका धेरै व्यक्तिमध्ये एक युवक प्रहरीको नजरमा परे । वैशाख ७ गते अपराह्न करिब २ बजे निराको पसल नजिकै एक युवक मास्क लगाएर हिँडिरहेको देखियो । छिर्के सर्ट, ट्राउजर, कालो जुत्ता र पछाडि ब्याग बोकेका एक युवकको हुलिया हेर्दा उनी लागूऔषध दुर्व्यसनी हुनसक्ने अनुमान गरियो । प्रहरीले सो क्षेत्रको सीसीटिभी फुटेजको अध्ययन तथा अनुसन्धान अगाडि बढायो ।

सो क्षेत्रको सीसीटिभी फुटेजको अनुसन्धान गर्दा ती युवक सो दिन अपराह्न २ बजेर ३४ मिनेटमा एटीएम बुथ नजिकै पुगेको र सोही क्षेत्र वरपर अलमलिएको देखियो । अपराह्न २ बजेर ४४ मिनेट जाँदा ती युवक पुनः निराको पसलतर्फ पुगेको देखियो भने त्यसको ७ मिनेटपछि युवक उक्त पसलबाट बाहिर निस्किएको देखियो । तर अचम्म के भने पहिले छिर्के सर्ट लगाएर हिँडिरहेका ती युवक एकाएक कालो टिसर्टमा देखिए ।

हत्या भएको स्थान नजिकै ती युवकको पटकपटक आवतजावत हुनु र एकाएक कपडा परिवर्तन हुनुले ती युवकमाथि प्रहरीको शंका झनै बढ्यो । त्यसपछि प्रहरीले ती युवकको खोजी सुरु गर्‍यो ।

अन्य कुनै सुराक नभएको कारण प्रहरीले आसपासका सीसीटिभी फुटेजलाई नै युवकको खोजीका लागि अनुसन्धानको साधन र विधि बनायो । ती युवक केही अगाडि बढेपछि गोपीकृष्ण हल नजिकैबाट एउटा टेम्पोमा चढेको देखियो । प्रहरीले उक्त टेम्पोको सीसीटिभी फुटेजलाई फलो गर्दै चावहिल चोकसम्म पुग्यो ।

ती युवक चावहिल चोकमा ओर्लिएको देखियो । त्यसपछि युवक एउटा मोटरसाइकलमा बसेको देखियो । केही कुराकानी गरेर मोटरसाइकलमा बसेका युवक त्यहाँबाट जडीबुटी पुगे । जडीबुटीबाट पुनः अर्को मोटरसाइकल चढेर मनोहरा पुलनजिक पुगेर ओर्लिए । त्यसपछि केही समय हिँडेर लोकन्थलीको वीपी स्मृति अस्पताल नजिकैबाट उनी हराए ।

प्रहरीले टेम्पो चालकलाई भेटेर सोधपुछ गर्‍यो । चावहिलबाट जुन मोटरसाइकलको प्रयोग गरेका थिए, उक्त मोटरसाइकलको खोजी गर्दै प्रहरीले चालकलाई भेटेर सोधपुछ गर्‍यो । मोटरसाइकल चालक युवकका चिनजानका व्यक्ति थिएनन् । उनी इनड्राइभर नामक राइड सेयरिङका चालक थिए । जडीबुडीबाट अर्को इनड्राइभर प्रयोग गरेका ती युवकको खोजीमा प्रहरीले अर्का इनड्राइभर चालकसँग पनि सोधपुछ गर्‍यो । तर दुवै राइडमा ‘अफलाइन’ रहेका ती युवक को थिए भन्ने पत्ता लाग्न सकेन ।

ती युवकको सीसीटिभी फुटेज अध्ययन गर्दै फलो गरिरहेको प्रहरीले मनोहरा पुलबाट नजिकै रहेको वीपी स्मृति अस्पतालबाट करिब ५० मिटरको दुरीपछि युवकको कुनै फुटेज भेटेन । सो क्षेत्रसम्म क्यामेराको कैदमा रहेका युवकको खोजीमा प्रहरीले थप तीन दिनको सीसी क्यामेराको फुटेज हेर्‍यो । तर त्यसपछि ती युवकलाई क्यामेरामा पाउन सकेन ।

वैशाख ७ गतेको उक्त घटनाका सम्बन्धमा प्रहरीले वैशाख ११ गते नै युवकको हुलिया पत्ता लगाई खोजी सुरु गरिसकेको थियो । तर युवक पत्ता लाग्न सकेको थिएन । यद्यपि सिभिलका प्रहरीहरु अन्तिमपटक युवकलाई देखिएको स्थान वरपर युवकको खोजीमा अहोरात्र खटिइरहेका थिए । मुख्यतः काठमाडौं उपत्यकामा अपराधको अनुसन्धान गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका प्रहरीहरु यो घटनाको सुक्ष्म अनुसन्धानमा केन्द्रित थिए । उनीहरुले मेहनतका साथ काम गरिरहेका थिए भने अपराध महाशाखाको टोलीसँग कार्यालय प्रमुख मनोज केसीले पलपलको अपडेट लिइरहेका थिए ।

उक्त दिनपछि ती युवकको दृश्य क्यामेरामा भेट्टाउन नसकेको प्रहरीले सो क्षेत्रमा व्यापकमात्रामा सिभिलका प्रहरी परिचालन गर्‍यो र सो क्षेत्रका व्यक्तिहरुसँग युवकको बारेमा सोधपुछ सुरु गर्‍यो । अन्ततः वैशाख १६ गते शनिबार बिहान ११ बजे अपराध महाशाखाको प्रहरी टोली युवकको डेरासम्म पुग्यो । डेरामा अन्य दुई जना युवक भेटिए पनि ती युवक भने त्यहाँ थिएनन् । ती युवकको तस्बिर देखाएर अन्य दुई युवकसँग सोधपुछ गरेपछि खुल्यो कि ती युवक झापाका विनोद विक थिए र उनी झापा पुगिसकेका छन् ।

युवकको पहिचान खुलेपछि प्रहरीले उक्त कोठाको खानतलासी लियो । खानतलासीका क्रममा विनोदले उक्त दिन बोकेको झोला, लगाएको जुत्ता र पहिले लगाएको छिर्के सर्ट कोठामै भेटियो । अचम्म त के भयो उक्त सर्टमा रगतका केही टाटा पनि भेटियो । त्यसपछि प्रहरी निश्चिन्त भयो कि हत्यामा उनकै संलग्नता छ । इन्सपेक्टरको कमाण्डमा रहेको उक्त टोली युवकको कोठासम्मै पुगेर वारदातका समयमा लगाएको सर्टसमेत बरामद गरेपछि त्यसको खबर अपराध महाशाखा लगायत अन्य प्रहरीको निकायमा पनि पुग्यो ।

हत्याको लामो समयसम्म पनि अपराधीको पत्ता लगाउन नसकिएको भन्दै वैशाख १५ गते केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)की प्रमुख एआइजी किरण बज्राचार्यको संयोजकत्वमा अनुसन्धान समिति नै गठन भइसकेको थियो । अनुसन्धानका लागि समिति नै बनिसकेको कारण त्यहाँ सीआईबीका प्रहरीहरु पुगे । लगत्तै सो घटनाको अनुसन्धानमा सुरुदेखि नै खटिएका अपराध महाशाखाका डीएसपी अनिलकुमार घिमिरे र कार्यालय प्रमुख मनोजकुमार केसी पनि तत्कालै घटनास्थलमा पुगे । यता प्रहरी परिसरको टोली पनि घटनास्थलमा पुगे । शंकित व्यक्ति झापामा रहेको पत्ता लागेपछि सोही डेरामा बस्ने एक युवकलाई साथमा लिएर अपराध महाशाखाका डीएसपी अनिलकुमार घिमिरे र सीआईबीका डीएसपी धर्मराज भण्डारी झापास्थित विनोदको घरमा पुगे । तर झापास्थित घरमा विनोद भेटिएनन् । विनोद त करिब डेढ वर्षदेखि घर नै गएका रहेनछन् । उनी घर परिवारबाट तिरस्कृत थिए ।

झापाको घरमा सजिलै भेटिएलान् भनिएका विनोदलाई खोज्न प्रहरीलाई झनै सकस भयो । काठमाडौंबाट गएको प्रहरीको टोली अपराह्न ३ः३० मा झापा पुगेको भए पनि विनोदलाई खोज्न करिब ६ घण्टा लाग्यो । मानवीय तथा प्राविधिक विश्लेषणपछि विनोद बिर्तामोडको एक होटलमा बसिरहेको भेटियो । विनोदसँगै सीसीटिभीमा देखिएको घडी, टिसर्ट, ट्राउजर र केही नगद पनि त्यहीँबाट बरामद भयो । विनोदलाई भेट्नेबित्तिकै सोधपुछ गर्दा उनले सजिलै आफ्नो अपराध कबुल गरे ।

निरासँग थिएन आरोपितको चिनजान, उद्देश्य लुटपाट मात्रै

शनिबार राति ९ बजेर १० मिनेटमा झापाको बिर्तामोडमा रहेको एक होटलबाट पक्राउ परेलगत्तै आरोपी विनोद विकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । विनोदले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा निराको हत्या गर्ने उद्देश्य नभई लुटपाट मात्रै गर्ने योजना रहेको तर निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीका अनुसार विनोद उक्त दिन लोकन्थलीमा रहेको साथीहरुको डेराबाट बिहान ११ बजे निस्किएका थिए । करिब ४ महिनादेखि बेरोजगार रहेका उनी कामको खोजीमा थिए भने खाजा खाने सामान्य खर्चसमेत नभएको कारण साथीहरुसँग खर्च मागेर हिँड्ने गरेका थिए । घटनाको तीन दिनअघि मात्रै विनोद झापाबाट काठमाडौँ आएर साथीहरुको कोठामा बसेका थिए ।

सो दिन विनोदको दिमागमा जसरी पनि खर्चका लागि पैसा कमाउनु पर्ने सोच थियो । सुरुमा विनोद बाटोमा हिँड्ने व्यक्तिको सिक्री वा गहना लुट्ने योजनामा थिए । उनले निराको हत्या गर्नुअघि अन्य दुई जनाको गहना लुट्ने प्रयास पनि गरेका थिए । तर उनको दुवै प्रयास असफल भएको प्रहरीको भनाइ छ ।

पहिले विनोद आफ्नी प्रेमिकासँगै चावहिलमा सामान्य खाजा पसल सञ्चालन गरी बसेको कारण त्यस क्षेत्रको भूगोलबारे जानकार थिए । त्यसकारण उनी चोरी वा लुटपाट गर्ने उद्देश्यले कपन सरस्वतीनगर क्षेत्रमा हिँड्दै थिए । सोही क्रममा उनले एउटा ठूलो पसलमा एक जना महिलामात्रै बसेको देखे । निराको पसलमा पुगेका उनले नजिकै पुगेपछि निराको घाँटीमा सुनको सिक्रीसमेत देखे । त्यसपछि निराको सिक्री र पसलमा भएको नगद लुटपाट गर्ने योजना बनाएर पसलमा प्रवेश गरे र चियाको कप लगायतको भाँडा देखाउन भने । सोही क्रममा केही भाँडा किन्ने भन्दै प्याकिङ गर्नसमेत लगाए ।

विनोद निराको घाँटीमा रहेको सिक्री लुट्ने मौका कुर्दै थिए । सोही समयमा पसलमा दुई जना महिला र एकजना पुरुष सामान किन्न आए । त्यसपछि विनोदको योजना तत्काललाई तुहियो । ग्राहकहरु गएलगत्तै फेरि चिया लिएर निराकी छोरी र भतिज पनि त्यहीँ आइपुगे । त्यसपछि विनोद एटिएमबाट पैसा झिकेर आउने भन्दै बाहिर निस्किए र केही परबाट निराको पसलको रेकी गरे । पसलमा अन्य कोही व्यक्ति नभएको निश्चित गरेपछि विनोद पुनः निराकै पसलमा पुगे ।

पसलमा निरालाई एक्लै देखेपछि विनोदले र्‍याकको केही माथि रहेको सामान देखाएर उक्त सामान झिक्न भने । निरा पछाडि फर्किएर सामान झिक्न लागेको समयमा विनोदले सुरुमा निराको ढाडमा मुक्काले हाने । मुक्का प्रहारपछि निराले प्रतिकार गरेर चिच्याउन खोजिन् । त्यसपछि विनोदले एक हातले निराको मुख थुनिदिन्छन् भने अर्को हातले नजिकै रहेको चक्कु झिकेर सिक्री र पैसा निकाल्न धम्की दिन्छन् ।

तर निराले त्यसपछि पनि प्रतिकार गर्न खोजेपछि विनोदले सोही चक्कुले पहिलोपटक पेटमा हान्छन् । त्यसपछि ढलेकी निराले दोस्रोपटक प्रहार गर्न खोजेपछि विनोदको हात समाउँछिन् । त्यही क्रममा विनोदले निराको हातमा समेत टोकिदिन्छन् र निरामाथि लगातार चक्कु प्रहार गर्छन् । त्यसपछि निराको मृत्यु भएको निश्चित गरेपछि उनी निराको घाँटीमा रहेको सिक्री र काउण्टरमा रहेको १ हजार २ सय पैसा झिकेर ब्यागमा राख्छन् । निराको हत्याको क्रममा सर्टमा रगत लागेको कारण उक्त सर्ट पनि झिकेर ब्यागमा राख्छन् र अगाडि बढ्छन् । अनि केही पर पुगेर टेम्पो चढेर लोकन्थलीमा रहेको साथीहरुको डेरामा पुग्छन् ।

तीन दिन साथीको कोठाबाट बाहिर ननिस्किएका विनोद चौथो दिन बल्ल कोठाबाट बाहिर निस्किएर नयाँ बसपार्क जाने बस चढ्छन् । पहिले नै चिनेका एक व्यक्तिको पसलमा पुगेर निराबाट लुटिएको ९९ लालको सिक्री ५५ हजारमा धरौटी राखेर निस्किन्छन् । प्रहरीले उक्त सुनसमेत बरामद गरिसकेको छ ।

विनोद सोही दिन कोठामा पुगेर साथीहरुसँग पार्टीसमेत गर्छन् । पार्टी गर्ने पैसाचाहिँ पहिले काम गरेको स्थानमा लिन बाँकी रहेको र त्यहाँबाट ल्याएको बताउँछन् । त्यसको भोलिपल्टै बस चढेर विनोद झापातर्फ लाग्छन् ।

काठमाडौंबाट निस्किएपछि प्रेमिकासँग इटहरीको होटलमा बास

काठमाडौंबाट वैशाख १२ गते झापातर्फ गएका विनोद झापास्थित घरमा गएनन् । बरु उनी प्रेमिकासँग दुई रात इटहरीको होटलमा बसे । त्यसपछि बल्ल उनी झापा गए । झापा गए पनि घरमा विनोदलाई तिरस्कार गरिएको कारण उनी झापाकै होटलमा बसे ।

विनोदको घरमा श्रीमती र सन्तानसमेत थिए । तर श्रीमतीसँगको सम्बन्ध राम्रो थिएन । कामकै सिलसिलामा भारतको बैंगलोर पुगेका विनोद कोभिड–१९ को लकडाउनको कारण काम नपाएपछि घर फर्किएका थिए । घर फर्किने क्रममा उनी झापाकै एक क्वारेन्टाइनमा बस्नु परेको थियो । क्वारेन्टाइनको बसाइपछि विनोद सोही क्वारेन्टाइनमा कामसमेत गर्न थालेका थिए । सोही समयमा क्वारेन्टाइनमा बस्न आएकी एक युवतीसँग विनोद प्रेममा परे । उनीसँगै घुमफिर र बसोबास गर्न थालेपछि त्यसको जानकारी विनोदको आमा र श्रीमतीलाई पनि भयो । त्यसपछि श्रीमती र आमाले विनोदलाई घरमै प्रवेश दिएनन् ।

विनोद तिनै प्रेमिकालाई ल्याएर काठमाडौँको चावहिलमा सानो खाजा पसलसमेत चलाएर बसेका थिए । तर ती प्रेमिकासँगको सम्बन्ध ‘लिभिङ रिलेसन’ मात्रै थियो, आत्मीयता थिएन । त्यसकारण विनोद कहिलेकाहीँ मात्रै प्रेमिकासँग कोठामा जाने र बस्ने गर्दथे । विनोद पनि ठमेलस्थित भाइब्रेन्ट क्लबमा बाउन्सरको रुपमा काम गर्न थालेका थिए । कराँतेमा ब्ल्याकबेल्ट समेत रहेका विनोदलाई बाउन्सरको रुपमा काम गर्न सहज पनि थियो ।

क्यासिनोको लत लागेको थियो विनोदलाई

पछिल्लो समय क्यासिनोको लत लागेका विनोद आफ्नो जीवनमा भने पटकपटक ‘फेलियर’ भएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेको कारण विनोद सुरुमा साउदी अरबमा रोजगारीका लागि गएका थिए । कक्षा ११ सम्मको अध्ययन गरेका विनोदले साउदी अरबमा रोजगारीमा जाँदा राम्रो काम पाउन सकेनन् । पैसा कमाउन नसक्दा विनोद भिसा सकिए पनि ‘ओभर स्टे’मा बसे । सोही समय विनोदको बुबाको नेपालमा मृत्यु भयो । तर ‘ओभर स्टे’का कारण उनी सहजरुपमा नेपाल आउन पाएनन् । करिब २ महिना साउदी अरबकै जेलमा बसेपछि उनलाई ‘डिपोर्ट’ गरियो ।

साउदी अरबबाट फर्किएपछि विनोदले स्कुल पढ्दाकी आफ्नी प्रेमिकासँग विवाह गरे । त्यसपछि पैसा कमाउने भन्दै उनी मलेसिया गए । त्यहाँ पनि उनको कमाई राम्रो भएन र छोटो समयमै नेपाल फर्किए । मलेसियाबाट फर्किएपछि विनोद कतार गए । त्यहाँ पनि उनको कमाई राम्रो भएन र नेपाल फर्किए ।

तर नेपालमै राम्रो रोजगारी नपाएको र आर्थिक अवस्था पनि राम्रो नभएको कारण विनोद फेरि कामका लागि भन्दै भारतको बैंगलोर पुगे । बैंगलोरमा भने उनको काम र आम्दानी राम्रो हुँदै थियो । तर त्यही समयमा कोरोनाको महामारी आइपुग्यो । कोरोनाको महामारीपछि विनोदको रोजगारी गुम्यो र उनी नेपाल फर्किए । नेपालमै क्यारेन्टाइनमा बसेको समयमा एक युवतीसँग विनोदको प्रेम भयो ।

युवतीसँग नजिकिएपछि घर परिवारले तिरस्कार गरेका विनोद झापाकै विभिन्न क्लब तथा होटलमा काम गर्न थाले । सोही समयमा झापाको एच एण्ड सी होटलमा काम गर्न थाले ।

भारतमै बसेको समयमा विनोदले आधार कार्ड बनाएका थिए । सोही आधार कार्डका आधारमा उनलाई नेपालका क्यासिनो छिर्न सहज थियो । त्यसपछि उनलाई क्यासिनोको लत लाग्यो । जुवा खेल्न थालेपछि विनोदलाई तीन लाख ऋणसमेत लागेको थियो । तर कमाई नभएको कारण उक्त ऋण तिर्न सकिरहेका थिएनन् । ऋण लिएका व्यक्तिहरुले दबाब दिएपछि विनोद त्यहाँबाट भागेर काठमाडौं आएका थिए । काठमाडौंमै भाइब्रेण्ट क्लबमा काम गर्न थालेका उनले करिब ४ महिना अगाडि त्यहाँको जागिर पनि गुमाएका थिए । त्यसपछि उनी पुनः झापा पुगेका थिए ।

तर झापामा पनि जागिर नपाएपछि जागिर खोज्न भन्दै विनोद घटनाको ४ दिन अगाडिमात्रै काठमाडौं आएका थिए । सामान्य खर्चसमेत नभएपछि विनोद जसरी हुन्छ पैसाको जोहो गर्न भन्दै चोरी वा लुटपाट गर्ने उद्देश्यले मौकाको खोजीमा भौंतारिएका थिए । सोही क्रममा निराको पसलमा पुगेका उनले लुटपाटको उद्देश्यबाट निरामाथि आक्रमण र पछि हत्या गरेका थिए ।

आइतबार कोलकाता जाने तयारीमा थिए विनोद

काठमाडौंमा निराको हत्या गरी सिक्री लुटपाट गरी भागेका विनोदलाई आफ्नो पहिचान खुल्छ कि भन्ने शंका थियो । काठमाडौंमा काम पनि नपाएको कारण उनी भारतमा गएर काम गर्ने योजनामा थिए । योजना अनुसार नै उनी झोला र आफ्नो सामानहरु प्याकिङ गरी आइबतार नै कोलकातातर्फ जाने योजनामा थिए । सोही अनुसार कोलकातामा रहेका एक नेपालीसँग उनले कुराकानी समेत गरिसकेका थिए । तर काठमाडौंबाट गएका अपराध महाशाखाका डीएसपी अनिल घिमिरे र सीआईबीबाट गएका डीएसपी धर्मराज भण्डारीले उनलाई उम्कन दिएनन् । पक्राउ परेलगत्तै उनलाई आइतबार बिहानै जहाजबाट काठमाडौं ल्याइयो ।

अनुसन्धानमा सफल भएको भन्दै अपराध महाशाखाका १८ प्रहरी पुरस्कृत

निरा पाण्डे आचार्यको हत्यामा संलग्नको खोजी र अनुसन्धानमा अहोरात्र खटी सफलता दिलाएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्ना १८ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरेको छ । अनुसन्धानमा दत्तचित्त भई लामो समयसम्म खटिएका डीएसपीहरु अनिल कुमार घिमिरे, सत्यनारायण थापा र किरण न्यौपाने, इन्सपेक्टर निर्मल थापा लगायतका १८ जना प्रहरी कर्मचारीलाई रेकर्डमा जनिने गरी आइतबार सम्मान गरिएको कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए । - रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस