कँडेलको आत्महत्या प्रकरण: प्रदीप रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

Posted on: 06 May, 2023

वैशाख २३, चितवन | पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ ।

राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।

पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । 

जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।

कांग्रेस चितवनले आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!