२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली

२०८०, २३ बैशाख शनिबार १३:३१

बैशाख २३, काभ्रेपलाञ्चोक | बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो । बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो । १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि मानिदै आइएको जात्रा भोलि सम्पन्न हुँदैछ । 

विशेषगरी नेवार समुदायले मनाउने जात्राअन्तर्गत हिजो पूर्णिमाको दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाले बोकेर ‘ल्हाका पालुं हाः’ (सबैले एकैचोटी उचालौँ) भन्दै चण्डेश्वरी पु-याएका थिए । 

एकपटक उचालेर अलिअघिसम्म लगेपछि बिसाउने रथलाई पुनःउचाल्नुपर्दा हरेक पटक सोही भन्दै झुम्दै आज युवाले रथलाई मन्दिरबाट पुनःबजार परिक्रमा गराएका छन् । रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ले साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाइरहेका छन् । 

पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिएको थियो । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिएको थियो ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा छ । 

जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पु-याइ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनःचण्डेश्वरीमा पु-याएपछि जात्रा सकिने गर्छ । 

बनेपालीका लागि यो जात्रा महान पर्व दशैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । यस जात्रामा ठूलो सङ्ख्यामा भक्तजनले सहभागिता जनाई धुमधामका साथ मनाइरहेका छन् । विशेषरुपमा नगरको मुख्य (पुरानो) बजारमा जात्रा केन्द्रित बनाइएको छ । विशेष पर्व झैँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिँगारिएको छ । 

जात्रा व्यवस्थापन समिति र स्थानीयले जात्रामा रथोरोहणका लागि ठूलाठूला काठको खट तयार गरेका थिए । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज चलिरहन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्छन् । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । चण्डेश्वरी मन्दिर, सडक, बस्ती–गल्लीमा भीडभाड छ । 

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार भक्तजन जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपा नगरपालिका कार्यालयले बर्सेनि जात्रामा आर्थिक सहयोग गर्ने गर्दछ । 

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्ने प्रचलन छ भने यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ । 

प्रचलनअनुसार पूर्णिमाकै दिन धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गरिएको थियो । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन छ । बोकाको बाँकी मासु ‘कलंदान’ गरिँदै आइन्छ । 

कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने गरेको बताइन्छ । किंवदन्ती अनुसार दुई हजार पाँच सय वर्ष अघि धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीका रुपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माई (माता)को जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस