वैशाख २४, काठमाडौँ | सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति छन् ।
आइतबार कार्यव्यवस्था परामर्श समितिमा सभामुख घिमिरेले भने, ‘संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं ।’
गत ४ मंसिरको चुनावपछिको प्रतिनिधिसभाको पहिलो अधिवेशनले संसदीय विषयगत समिति गठन गरे पनि संयुक्त समिति भने गठन गर्न सकेको थिएन । दोस्रो अधिवेशन सुरु हुनु अगावै सभामुख घिमिरेले संयुक्त समिति गठनका लागि संसदमा रहेका दलहरुको ध्यानाकर्षण गराएका हुन् ।
संघीय संसदको वर्षे अधिवेशन आइतबार सुरु हुँदैछ । त्यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त समिति गठनका दलीय आधारमा सांसदहरुको नाम पठाउन दलहरुलाई तीन दिनको समय दिएका उनको सचिवालयले जनाएको छ ।