मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला

Posted on: 17 May, 2023

जेठ ३, बागलुङ | बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो ।

तारीखेत छोरीको घरमा बस्दै आउनुभएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।

अदैको कसरी मृत्यु भएको भन्ने बारेमा अहिलेसम्म यकिन नभएको भन्दै अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!