कञ्चनपुरमा एकै घरका ८ जनालाई विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाई लुटपाट

Posted on: 01 Jun, 2023

जेठ १८, कञ्चनपुर | कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेहोस भेटिनेमा ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन् ।

उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेको पाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!