उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ

Posted on: 18 Mar, 2024

चैत ५, विराटनगर । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।

निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले इटहरी- ९ मा क्लिनिक सञ्चालन गर्दै आएका डा. रामसागर मेहतालाई किटानी जाहेरी परेपछि नियन्त्रणमा लिइएको बताए ।

महिलामाथि आइतबार साँझ क्लिनिकमा दुर्व्यवहार गरिएको महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।

ईसीजी गराउने क्रममा मिसबिहेभ भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । डा. मेहता बाल रोग विशेषज्ञ हुन ।

महिलामाथि दुर्व्यवहार गरिएको भए पनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!