परीक्षा केन्द्र टाढा तोकिएको भन्दै एसईई दिने विद्यार्थीद्वारा सडक अवरुद्ध

Posted on: 20 Mar, 2024

चैत ७, सिरहा | चैत १७ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ‘परीक्षा केन्द्र’ टाढा तोकेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित मावि महदेवा पोर्ताका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

सो विद्यालयका विद्यार्थीहरुले आज मध्यान्हबाट लहान–ठाडी सडक अवरुद्ध पारेका हुन् । सडक अवरुद्ध पारेपछि सवारी साधनहरु अलपत्र परेका छन् । उनीहरु पहिलेदेखि रहँदै आएको विद्यालयमा परीक्षा केन्द्र तोक्नुपर्ने माग गरेका छन् ।

विद्यार्थीको आन्दोलनमा विद्यालयका शिक्षकहरु समेत सहभागी भएका थिए । प्रधानाध्यापक घुरन यादवले जिल्ला शिक्षा समन्वय समितिले मनपरी ढंगले परीक्षा केन्द्र तोकेपछि आन्दोलन गर्नुपरेको बताए ।

उनका अनुसार समितिले यस वर्ष लहान नगरपालिका २१ स्थित सगरमाथा मावि ढोढना विरनगरमा परीक्षा केन्द्र तोकेको छ । यो केन्द्र २० किलोमिटर टाढा पर्छ ।

विगतमा वडा नम्बर ३ स्थित मनेलाल जनता मावि सोठियाइनमा परीक्षा केन्द्र तोकिँदै आएको थियो । यहाँ परीक्षा केन्द्र तोक्दा घरबाटै विद्यार्थीहरु परीक्षा दिन भ्याउथे । तर यो वर्ष २० किलोमिटरभन्दा बढी दूरीमा रहेको विद्यालयमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेको प्रधानाध्यापक यादवले बताए ।

उनले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोक्न समन्वय समितिका कर्मचारीले रकम मागेको र नदिएपछि २० किलोमिटर टाढा केन्द्र तोकिदिएको आरोप समेत लगाए । उनले चेतावनी दिए, ‘समन्वय समितिले तत्कालै परीक्षा केन्द्र सच्याओस् । यदि नभए कडा आन्दोलन गर्छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादव र प्रधानाध्यापक घुरन यादवले विज्ञप्ति जारी गर्दै परीक्षा केन्द्र विगतमा तोकिएको विद्यालयमा राख्नुपर्ने माग गरेका छन् ।

अभिभावक तथा विव्य समितिका सदस्य गुलटेन यादवले परीक्षा केन्द्र टाढा तोकेर विद्यार्थीसँग अन्याय गरिएको बताए । उनले भने, ‘अहिले तोकिएको परीक्षा केन्द्र धेरै टाढा छ । विद्यार्थीले समस्या झेल्नुपर्छ । जिल्ला समन्वय समितिसँग तत्कालै निर्णय सच्याउन हाम्रो माग छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!